logo
२०८१ जेष्ठ ४ शुक्रवार



एक वर्षमा पनि सन्थाल बस्ती परियोजनाको काम शुरु भएन

खुला |
प्रदेश |


एक वर्षमा पनि सन्थाल बस्ती परियोजनाको काम शुरु भएन



हरिप्रसाद कोइराला
उर्लाबारी, माघ २६ गते । मोरङको उर्लाबारी–९ रातेहोली किनारमा एक वर्ष अघि सङ्घीय सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गर्ने सन्थाल एकीकृत बस्ती विकास परियोजना यतिबेला अलपत्र भएको छ ।

परियोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते ठूलो तामझामका साथ शिलान्यास गर्दै १८ महिनापछि सन्थालहरू झुपडीबाट घरमा सर्ने बताउनुभएको थियो ।

सन्थाल जातिका अति विपन्न १३२ परिवारलाई सुविधासम्पन्न घर बनाएर राख्ने परियोजनाले स्थानीय स्तरमा खुसी छाएको थियो । १७ करोडको उक्त परियोजना सरकारले ठेक्का समेत लगाइसकेको ।

सगुन कन्ट्रक्सनले निर्माण गर्ने सन्थाल एकीकृत बस्ती ७ कट्ठा १६ धुर जग्गामा बन्नेछ । बस्तीभित्र बाल उद्यान , सन्थाल जातीय सङ्ग्रहालय निर्माण गरिने योजना थियो । तर नगरपालिकाले रातेहोलीको खोला उकास जमिन खाली गर्न सहयोग नगरेकाले एकीकृत बस्ती निर्माण परियोजना अहिलेसम्म ज्यूँकात्यूँ छ ।

शिलान्यास गर्दा राखिएको स्तम्भ पनि भत्किसकेको छ । उर्लाबारी नगरपालिकाका उप प्रमुख लक्ष्मीदेवी भण्डारीले भन्नुभयो – 'स्थानीय केही राजनीतिक व्यक्तिकाे बहकाउमा परेर जग्गा जोतभोग गरिरहेकाले जग्गा छोड्न नमानेकाले परियोजना अघि बढ्न नसकेकाे हाे ।'

उहाँले रातेहोली खोलाको उकास जमिनमा परियोजना निर्माण हुन लागेको बताउनुभयो । ऐलानी जमिन होइन तर पनि जसले उपभोग गरेका छन्, उनीहरूको सहयोग नहुँदा करोडौंको आयोजना अघि बढ्न नसकेको बताउनुभयाे।

नेपाली काँग्रेस मोरङ १–(क) का सभापति नरबहादुर मोक्तानका अनुसार कुनै वस्तीलाई आरोप लगाएर उपप्रमुख पन्छिन मिल्दैन। खोला उकास जमिन भनिए पनि भोगचलन त्यस्तो अवस्थामा छैन । उहाँले नम्बरी जग्गामा खोलो कुदेको र साविक खोलो भएको उकास जमिन स्थानीय २६/२७ परिवारले उपभोग गरिरहेको बताउनुभयो ।

'जग्गा नाप नक्शा गरी जग्गाधनीको जमिन छुट्याएर खोला उकास जमिन कायम गर्ने काम नगरपालिकाको हो । जग्गा जोतभोग गरिरहेका स्थानीयसँग नगरपालिकाले समन्वय गर्ने हो भने परियोजनाको काम भोलिबाट सुरु हुनसक्छ' मोक्तानले भन्नुभयो ।

सन्थाल जातिका अगुवा बुद्धिलाल सोरेन सरकारले निर्माण गरिदिएको घरमा बस्ने सपना पानीको फोका झैं फुटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो–ठूला नेताहरूबीच समन्वय नहुँदा हामी अन्यायमा परेका छाैँ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?