logo
२०८१ जेष्ठ २ बुधवार



हुम्लामा फेरि हिमपात, चिसो बढ्यो

खुला |
प्रदेश |


हुम्लामा फेरि हिमपात, चिसो बढ्यो


राजन रावत
हुम्ला, माघ २६ गते । यस वर्ष हुम्लामा एघारौं पटक हिमपात भएको छ । बिहानैबाट मौसम बिग्रीएको भए पनि दिउँसोबाट हिमपात सुरु हुँदा चिसो बढेको हो । स्थानीय नन्द रावतले बुधबार दिउँसोबाट हिमपात सुरु भएको बताउनुभयो ।

यो हिमपात यस वर्षको एघारौंं पटक भएको बताउँदै चिसो निकै बढेको उहाँले बताउनुभयो । चिसो बढेको हुँदा हिउँ जमिनमा जम्न सुरु भएको छ । दिउँसोको तापक्रम माईनस नौ डिग्री सेल्सियसमा पुगेको बताउँदै उहाँले पटक पटकको हिमपातले जनजीवन प्रभावित भएको बताउनुभयो । चार दिन अगाडि परेको हिउँ नसकिदैन पुनः हिमपात सुरु भएपछि उत्तरी हुम्ला सेताम्मे देखिएको छ ।

दुई दिन घाम लाग्दा न्यानो महशुस भए पनि स्थानीयलाई पछिल्लो हिमपातले चिसो महशुस भएको छ । हिमपात सुरु भएपछि वनमा चराउन लगिएका पशुबस्तु गोठालाले घर ल्याउन थाल्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले चिसोले बिहान केही सेवाग्राही आएको भएपनि दिउँसोबाट आउन छोडेको जनाएको छ । प्रशासनले माथिल्लो हुम्लामा २३ भन्दा बढी बस्तीमा हिमपात सुरु भएको र अग्ला स्थानमा बाक्लो हिउँ जम्न थालेको स्थानीयको भनाई छ ।

हिमपातले चिसो बढेकाकारण अघिल्लो हिमपातबाट सञ्चार सम्पर्कबिहीन भएको लिमी हालसम्म सम्पर्कविहिन अवस्थामै छ । चिसोले पानीको स्रोत नपुगेको जनाउदै हिल्दु साना जलबिद्युत आयोजनाले बिहानैबाट लोडसेडिङ बढाउँदा सेवाग्राही मर्कामा पर्नुभएको छ । खराव मौमस भएपनि बिहान हवाई सेवा सुचारु भएको थियो । तर फेरि भएको हिमपातपछि सो सेवा पनि अवरुद्ध बनेको छ । यसवर्ष पहिलो हिमपात मंङ्सिर महिनामा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?