नविन शिशिर विक
बागलुङ, माघ २६ गते । बागलुङको काठेखोला गाउँपालिका –२ भीमापोखराले सामूहिक भान्साको लागि आमा समूहलाई भान्साका सामग्री वितरण गरेको छ । आमा सशक्तिकरण कार्यक्रम अन्तर्गत गाउँमा हुने विवाह, ब्रतबन्धजस्ता सामाजिक र सामूहिक कार्यमा प्रयोग भएका भाँडाबर्तन वितरण गरिएको हो ।
काठेखोला गाउँपालिकाको तीन लाख रुपियाँ सहयोगमा आमा समूहमार्फत सामग्री खरिद गरेर साविकका वडामा रहेका समूहलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष विद्यापति शर्माले बताउनुभयो । पुलाउ पकाउने भाँडा ४ थान, कुर्ची १२६ थान, टेवल आठ थान, कराई एक थान, ग्यास सेट दुई थान, थर्मस दुई थान र थाल, कचौरा, चम्चा गिलासलगायतका सामग्री वितरण गरेको शर्माको भनाइ छ ।
साविकका वडामा क्रियाशील आमा समूहको माग अनुसारका भान्सा सामग्री उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष हुमाकुमारी गौतमले बताउनुभयो । साविक वडामा क्रियाशील आमा समूहले विभिन्न शुभ कार्यमा व्यक्तिको घरमा गएर भजन, रत्यौलीजस्ता साँस्कृति कार्यक्रम गरी संकलन गरेको रकमबाट सामाजिक भाँडा बर्तन खरिद गरी गाउँमा चलाउँदै आएका छन् ।
गाउँमा हुने विवाह, ब्रतबन्ध, मृत्यु संस्कार जस्ता कार्यमा कामको प्रकृतिअनुसार निश्चित शुल्क लिएर सामाजिक भाँडाकुडाको प्रयोजन हुँदैआएको छ । आमा समूहले थालेको सकारात्मक अभ्यासलाई सहयोग गरेको वडाध्यक्ष शर्माको भनाइ छ ।