logo
२०८१ बैशाख २५ मंगलवार



दार्चुलाको लेकाली भेगमा हिमपात

खुला |
प्रदेश |


दार्चुलाको लेकाली भेगमा हिमपात


लोकेन्द्र जोशी
दार्चुला, माघ २६ गते । बुधबार विहानैदेखि मौसम बदली भएपछि दार्चुलाका अधिकांश ठाउँमा हिमपात भएको छ  । ब्यास र अपि हिमाल गाउँपालिकाका लेकाली भेगमा तथा उच्च भूभागमा बाक्लो हिमपात भएको स्थानीय सुशिल रोकायले जानकारी दिनुभयो ।

यो बर्ष मात्रै करिब दर्जन पटक गाउँसम्मै हिमपात भइसक्यो उहाँले भन्नुभयो, “पटक पटकको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातले मानिससँगै गाईबस्तुलाई पनि समस्या भएको छ ।” वर्षा र हिमपातका कारण चिसो बढेकोले घर बाहिर निस्कन समस्या भएको अपि हिमाल गाउँपालिकाका स्थानीय कलावती रोकायले बताउनुभयो ।

लेकाली बस्तीहरूमा बाक्लो हिउँ जम्न सुरु भएको स्थानीयबासीले बताएका छन् । अपि हिमालको केन्द्र खडेश्वरीमै यो बर्ष चार पाँच पटक हिमपात भइसकेको छ स्थानीय कमलेश मन्यालले बताउनुभयो । हिमपातका कारण माघ महिना घर्किन लाग्दा समेत चिसो नघटेको स्थानीयको भनाई छ । अपि हिमालको पाथा, क्षत्ति, घाजिर लगायतका उच्च क्षेत्रका बस्तीमा बाक्लो हिमपात भएकाले जनजीवनमा प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो ।

ब्यास गाउँपालिका १ छाङरु र तिङ्कर गाउँमा पनि यो बर्ष दश बाह्र पटक हिमपात भइसकेको छ । व्यास र अपि हिमाल गाउँपालिकाको गाउँसम्मै पटक पटक हिमपात भएको स्थानीयले बताएका छन् । अपि र व्याससँगै नौगाड, दुहुँ, मार्मालगायत स्थानीय तहमा समेत हिमपात भएको छ ।

गत साता दार्चुलाका सबै स्थानीय तहमा हिमपात भएको थियो । चिसोका कारण बालबालिका र बृद्धबृद्धा बढी समस्यामा परेका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, सावधानी अपनाएर आगो ताप्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले सुझाब दिएका छन् । पटक पटकको हिमपातका कारण सञ्चार सेवा समेत अवरुद्ध बनेको छ । सञ्चार अवरुद्ध हुँदा सेवाग्राहीले समस्या भोग्न बाध्य भएको गुनासो गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?