धीरेन्द्रप्रसाद साह
जनकपुर, माघ २६ गते । मधेस प्रदेश सभाको बुधबार बसेको आठौ अधिवेशनको १० औं बैठकले थप एक विधयेक पारित गरेको छ । मधेस प्रदेश सरकारले जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न ल्याएको विधयेक प्रदेश सभाबाट सर्वसम्मत पारित भएको प्रदेश सभा सदस्य प्रमेश्वर साहले जानकारी दिनुभयो ।
प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पेस गर्नुभएको विधेयकमाथि छलफल पश्चात सर्वसम्मत पारित भएको उहाँले बताउनुभयो । प्रदेशभित्रको सार्वजनिक महत्वको विषयमा जाँचबुझ गर्न आयोग गठनसम्बन्धी विधयेक मधेस प्रदेश सरकारले ल्याएको थियो ।
सो आयोगमा अदालतका पूर्व न्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा पूर्व सचिव वा उपसचिव र सम्बन्धित विषयका विज्ञसहित अन्य बढीमा दुई जना सदस्य रहने व्यवस्था रहेको छ । प्रदेश सरकारले आयोगका लागि जनशक्ति र बजेटको व्यवस्था गर्ने व्यवस्था छ ।
यस्तै, बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले प्रदेश प्रहरी गठन, सञ्चालन तथा भर्नासम्बन्धी संकल्प प्रस्ताव समेत पेस गर्नुभएको थियो । सो संकल्प प्रस्ताव पारित हुन बाँकी रहेको सभा सदस्य साहले जानकारी दिनुभयो ।