गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २७ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिविहीनलाई लालपुर्जा वितरणको काम पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । सिरहाको मिर्चैया नगरपालिका–१ र २ मा लालपुर्जा वितरण कार्यक्रममा श्रेष्ठले २०२१ यता नापी हुँदा गाउँब्लकका रूपमा थन्किएका लालपुर्जा वितरणलाई प्राथमिकतासाथ अघि बढाएको बताउनुभयो ।
उहाँले एक वर्षमा लालपुर्जा वितरण गरिसक्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जमिन भएर पनि लालपुर्जा नहुँदा भूमिविहीन भएका नागरिकको समस्या समाधान गर्न सरकारले काम थालेको छ ।” मन्त्री श्रेष्ठको सचिवालयका अनुसार सिरहाका एक हजार परिवारलाई बुधबारदेखि शुक्रबारसम्म लालपुर्जा वितरण गरिसक्ने कार्यक्रम छ । श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले हरुवाचरुवाको समस्या स्थायी रूपमा समाधान गरिने बताउनुभयो । सिरहाको बरियारपट्टीमा हरुवाचरुवा, कमैया कमलरीहरूको अध्ययन गर्न गठित समितिले आयोजना गरेकोे छलफलमा श्रेष्ठले हरुवाचरुवाका समस्या पहिचान गरी अध्ययन समितिले दिने प्रतिवेदनअनुसार दिगो समाधान खोजिने बताउनुभयो । उहाँले हरुवाचरुवा, कमैया कमलरीको समस्या समाधान गर्न पाँच सदस्यीय अध्ययन समिति पनि गठन गर्नुभएको छ । समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन सरकारलाई बुझाउने छ ।