logo
२०८१ जेष्ठ ४ शुक्रवार



ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवा अवरुद्ध

खुला |
प्रदेश |


ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवा अवरुद्ध
केही सातायता सञ्चार सम्पर्क विच्छेद बनेको ओलाङ्चुङगोला बस्ती 


चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङको दुर्गम तथा हिमाली क्षेत्रमा तीन सातादेखि सञ्चार सेवा अवरुद्ध भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका, मेरिङ्देन र फक्ताङ्लुङ गाउँपालिकाका केही वडामा सञ्चार (टेलिफोन र इन्टरनेट) सेवा अवरुद्ध भएको हो ।

उक्त क्षेत्रमा रहेका टेलिफोन तथा इन्टरनेटका टावर सञ्चालनका लागि भरपर्दो ऊर्जा (विजुली) को व्यवस्था नभएका कारण सञ्चार सेवा अवरुद्ध हुँदै आएको हो । सेवा अवरुद्ध हुँदा केही वडासँग पूरै सञ्चार विच्छेद हुन पुगेको छ भने केहीमा सामान्य सञ्चार सेवा रहे पनि प्रभावकारी नहुँदा सेवाग्राहीलाई हैरानी हुँदै आएको छ ।
मिक्वाखोला गाउँपालिका–३ लिबाङ, सोही पालिकाको वडा नं. ४ साँबा र वडा नं. ५ पापुङमा सञ्चार अवरुद्ध भएको छ ।

यस्तै, मेरिङ्देन गाउँपालिकाको वडा नं. ५ थुकिमा र वडा नं. ६ नाल्बुमा सञ्चार सेवा अवरुद्ध बनेको छ । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा पनि सञ्चार सेवा अवरुद्ध बनेको छ । पछिल्लो डेढ सातायता सञ्चार सेवा अवरुद्ध हुँदा हाल ओलाङ्चुङगोलासँग सम्पर्क विच्छेद हुन पुगेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको जिल्लाकै दुर्गम हिमाली गाउँ ओलाङ्चुङगोलामा रहेको स्याटेलाइट टावर नचल्दा सेवा अवरुद्ध बनेको बताइएको छ । हिउँद याम सुरु भएपछि हिमाली क्षेत्रमा निरन्तरको हिमपातसँगै मौसम प्रतिकुल बनेका कारण टावर सञ्चालन गर्न जडान गरिएको सोलार (सौर्य ऊर्जा) ले काम नगरेकाले सञ्चारमा समस्या हो ।

ओलाङ्चुङगोलाका स्थानीयसमेत रहनुभएका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाले मौसम नखुल्ने अर्थात घाम नलाग्ने भएपछि सोलार चार्ज नहुँदा समस्या आएको बताउनुभयो ।

मौसम खुलेर घाम लागेमा टावर चल्नुका साथै सञ्चार स्थापित भइहाल्ने र मौसम प्रतिकूल हुँदा सञ्चार अवरुद्ध हुने अवस्था रहेको शेर्पाले बताउनुभयो । सञ्चार अवरुद्ध हुनुमा मौसमका कारण सोलार चार्ज नहुनेभन्दा अन्य समस्या भने नभएको उहाँको भनाइ छ । स्थानीयका नुसार ओलाङ्चुङगोलालगायत हिमाली क्षेत्रमा केही सातायता दिनहुँजसो हिमपात हुने गरेको छ ।

यस्तै, मिक्वाखोला र मेरिङ्देन गाउँपालिका क्षेत्रमा तीन साता बढी समयदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध रहेको बताइएको छ । टेलिफोन र इन्टरनेट अवरुद्ध हुँदा गाउँपालिका र वडा कार्यालयका सेवा प्रवाहमै समस्या आएको मिक्वाखोला गाउँपालिकाका प्राविधिक गजेन्द्र थलङले बताउनुभयो । गाउँमा टेलिफोन र इन्टरनेट सेवा नचलेपछि गाउँपालिकाको काम सदरमुकाम फुङ्लिङमा आएर गरिरहेको थलङले बताउनुभयो ।

थलङका अनुसार मिक्वाखोलाको तीनवटा वडा र मेरिङ्देनको दुईवटा वडामा हाल इन्टरनेट सेवा ठप्प भएको छ । उक्त वडाहरुमा टेलिफोन सेवा अवरुद्ध बनेको छ । बेलाबखत मोबाइलमा सम्पर्क भइहाले पनि आवाज नबुझिने अवस्था रहेको उहाँले बताउनुभयो । आफ्नो क्षेत्रमा भएको सञ्चार सेवा अवरुद्धबारे नेपाल टेलिकम कार्यालय ताप्लेजुङलाई गएको सोमबार ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो ।

यता, नेपाल टेलिकम कार्यालय ताप्लेजुङले भने निरन्तरको हिमपात र वर्षाले मौसम प्रतिकूल भएका कारण सञ्चारमा समस्या आउने गरेको जनाएको छ । टेलिकम कार्यालयका प्रमुख शिवकुमार सिंहले मिक्वाखोला गाउँपालिकाको साँबामा रहेको बीटीएस टावर सञ्चालन गर्ने सोलारले काम नगरपछि सञ्चार अवरुद्ध भएको बताउनुभयो । सिंहका अनुसार पाँचथरको सिलौटीमा रहेको रिपिटर टावरको रेडियो प्रविधिमा केही समस्या आएकाले पनि जिल्लामा सञ्चार सेवामा केही समस्या रहँदै आएको थियो ।

सिटौटीको टावरमा रहेको समस्याको समाधन गरिसकेकाले अब सेवामा समस्या नआउने सिंहको भनाइ छ । उहाँले मौसम प्रतिकुल भएमा भने सौर्य ऊर्जामार्फत सञ्चालित टावर रहेका क्षेत्रमा सञ्चार सेवामा समस्या आउने बताउनुभयो । अहिले बिद्युतको पहुँच पुगेका जिल्लाको आठराई त्रिबेणी, मैवाखोला, मेरिङ्देन, मिक्वाखोला लगायतका गाउँपालिकामा रहेका टावरहरु सञ्चालनका लागि मिटर जडानको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?