logo
२०८१ मंसिर ७ शुक्रवार



आगामी चैतदेखि लोककल्याणकारी विज्ञापन वितरणको तयारी

खुला |
प्रदेश |


आगामी चैतदेखि लोककल्याणकारी विज्ञापन वितरणको तयारी


धीरेन्द्रप्रसाद साह
राजविराज, माघ २७ गते । आमसञ्चार प्राधिकरण मधेस प्रदेशले अगामी चैत महिनादेखि मिडियाहरुलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने तयारी गरेको छ । प्रदेशभरिका मिडियाहरुको सबलीकरण र समृद्ध बनाउन सहयोग पु¥याउन चैत महिनादेखि लागू हुनेगरी लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन तयारी गरिएको हो ।

लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तरिकाले उपलब्ध गराउने कार्यविधि पनि बनाइसकेको आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो । फागुनभित्र कार्यविधि पारित गराएर अन्य आवश्यक प्रक्रिया पूरा गरी चैतदेखि विज्ञापन वितरण कार्य गर्नेछौं उहाँले भन्नुभयो ।

प्रदेशमा समृद्ध सञ्चार सबल सञ्चारकर्मी बनाउने दीगो लक्ष्यकासाथ मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको सहयोगमा प्रदेशभरिका पत्रकारलाई स्वास्थ्य र दुर्घटना बीमाको लागि सरोकारवालासँग एक दिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमबाट १७ सदस्यीय बीमासम्बन्धी कार्यविधि मस्यौदा समिति  गठन गरिसकेको उहाँले बताउनुभयो ।

दुई हप्ताभित्रै सो कार्यविधि मन्त्रिपरिषद्बाट पारित गराई पत्रकारको बीमा गरिने अध्यक्ष यादवले भन्नुभयो, “यससँगै प्रत्येक जिल्लामा घुम्ति शिविर सञ्चालन गरेर पत्रकारलाई मधेस प्रेस प्रतिनिधि परिचयपत्र वितरणको तयारी गरेका छौं ।”

गत वर्ष कोरोना कहरमा प्रदेशका आठवटै जिल्ला पुगेर नेपाल पत्रका महासंघका शाखालाई थर्मलगन, अक्सिमिटर र पत्रकारलाई मास्क, सेनिटाइजर, फेसशिल्ड वितरण गरेको छ । २०७७ माघ २९ गते गठन भएको प्राधिकरणको कार्यालयको लागि भवन खोजी, कार्यालय व्यवस्थापन र सञ्चालनमै समय व्यतित हुँदा आर्थिक वर्षको अन्तिम २०७८ असार महिनामा खाता सञ्चालन भएको प्राधिकरणले जनाएको छ ।

अबको पाँच महिनामा अनलाइन पत्रकारिता, विकास एवं सुशासन तालिम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । दलित, मुस्लिम आदिवासीहरुको पत्रकारिता पेशामा सङ्ख्या वृद्धि गराउने, पत्रकारितामा पहुँच अभिवृद्धि गर्ने, टेलिभिजकर्मीलाई रिपोर्टिङ्ग, छयाङ्कन एवं दृश्य सम्पादन तालिम दिने, एफएम रेडियो व्यवस्थापनसम्बन्धी कार्यक्रम गरिने तयारी गरिएको अध्यक्ष यादवले बताउनुभयो ।

यस्तै, प्रदेशस्तरीय मिडिया अभिलेखीकरण, मिडिया डारेक्टरी तयार गरिनुको साथै अनलाइन मिडिया दर्ता, पत्रपत्रिकाहरुको स्थायी प्रमाणपत्र पनि फागुनको दोस्रो सातादेखि नै वितरण गर्ने तयारी गरेको उहाँको भनाइ छ । गोरखापत्रसँगको विशेष कुराकानीमा उहाँले आठ जना दरबन्दी कर्मचारीमा एक जना नायब सुब्बाको भरमा कार्यालय सञ्चालन भइरहेको बताउनुभयो ।

आर्थिक महिनाको ६ महिना बित्तिसकेपछि पुसमा कर्मचारी र बजेटको अख्तियारी दिएकोले चाहेअनुसार आशातित कार्य गर्न नसकेको उहाँको भनाई छ । पुसमा प्रशासकीय प्रमुखलाई पठाइएको छ उहाँले भन्नुभयो, “प्रशासकीय प्रमुखलाई मन्त्रालय र आमसञ्चार प्राधिकरणको दोहोरो जिम्मेवारीमा खटाइएको छ । यसले मन्त्रालयको कामकाजबाट भ्याइनभ्याइ हुँदा सोचेजस्तो प्राधिकरणको काम अगाडि बढाउन मुस्किल छ ।”

प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७ अनुसार अध्यक्षसहित तीन जना पदाधिकारी नियुक्त भइसकेको छ । आठ जना कर्मचारीको दरबन्दीमा प्रशासकीय प्रमुख, नायब सुब्बा, आइटी इन्जिनियर, लेखापाल, चालक एक एक जना र कार्यालय सहयोगी दुई जना हुनुहुन्छ । तर, नायब सुब्बाबाहेक अन्य कर्मचारी स्थायी पदपूर्ति भएको छैन ।
घरभाडा, तलब, भत्ता, सवारी, सञ्चार, कार्यक्रमसहित वार्षिक एक करोड बजेटमा बाँडफाँड गर्दा कार्यक्रम गर्न ४५ लाख मात्र रहेको अध्यक्ष यादवले बताउनुभयो । थोरै बजेटले पनि कार्यक्रम गर्न अप्ठ्यारो भइरहेकाले थप बजेट माग गरेर योजनाअनुसारको कार्य गरिने उहाँको विश्वास छ ।

मधेस प्रदेश सरकारको सहयोगमा प्राधिकरणले सञ्चार प्रतिष्ठान स्थापना, सञ्चार उपकरणमा अनुदान, एकीकृत सूचना प्रणाली व्यवस्थापनसहित सङ्घबाट प्राप्त भइरहेको सुविधाजस्तै प्रदेशबाट पनि प्रदेशका पत्रकारलाई सेवा सुविधा दिने कार्य पनि भइरहेको छ । प्रदेशभरि पत्रकार महासङ्घसँग आबद्ध आठ सय पत्रकार हुनुहुन्छ । महासङ्घमा आबद्ध नभएका क्रियाशील करिब दुई सय पत्रकार पनि विभिन्न सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?