विजयकुमार साह
ढल्केबर, माघ २७ गते । झण्डै एघार वर्षपछि रेल सेवा सञ्चालन हुने निश्चित भएपछि जनकपुरका स्थानीय पर्यटन व्यवसायी, उद्योगी, व्यापारी हर्षित भएका छन् । रेल सञ्चालनमा आएमा भारतीय पर्यटकको सङ्ख्या बढ्ने र व्यापार व्यवसाय फस्टाउने व्यापारीको बुझाई छ । फागुन १ गतेबाट धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन गर्ने तयारी नेपाल रेल्वे कम्पनीले गरेको छ ।
धार्मिक नगरीको रुपमा चिरपरिचित जनकपुरधाममा जानकी मन्दिर, राममन्दिर, लक्ष्मण मन्दिर, विवाहमण्डप, धनुषाधामको धनुषा मिन्दर दशरथ तलाउ लगायत दर्जर्नौ हिन्दू धार्मिक आस्थासँग जोडिएका मठमन्दिर छन् । रेल सेवा सञ्चालन भइरहेका बेला भारतीय पर्यटकको बाक्लो उपस्थित रहँदैआएको स्थानीय व्यवसायीहरुले गर्दैआएका छन् ।
छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश, सिमला, उत्तराखण्डलगायतका राज्यबाट पर्यटक जनकपुरधाम आउने गरेका छन् । रेल सेवा बन्द भएसँगै कमी भएको पर्यटकको सङ्ख्या रेल सुचारुपछि बढ्ने विश्वास रहेको जनकपुरका स्थानीय व्यापारी पङ्कज ठाकुरले बताउनुभयो । अहिले भारतीय पर्यटकलाई यहाँ आउन निकै समस्या हुनेगरेको छ । कतिपय भारतीय पर्यटक गाडी रिजर्व गरेर आउनेगरेको उहाँले बताउनुभयो ।
रेल सञ्चालन हुँदा दैनिक पाँच हजार मानिस ओहाेरदोहोर गर्ने हुँदा निश्चितरुपमा यहाँको व्यापार व्यवसाय र पर्यटन क्षेत्रमा फाइदा पुग्ने जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताउनुभयो । त्यस्तै, यहाँका व्यापारीलाई भारतबाट सामान आयात गर्न सस्तो र सुलभ हुने बुझाइ छ । पर्यटन क्षेत्र, होटल व्यवसायी, खुद्रा व्यापारलगायत समग्र व्यापारमा प्रत्यक्ष फाइदा पुग्ने अध्यक्ष महासेठले भन्नुभयो ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फागुन १ गतेबाट रेल सेवा सञ्चालन गर्ने बताउनुभयो । सुरुको १५ दिनसम्म दिनको एक पटक खाली रेल कुदाउने र विधिवत् रुपमा उद्घाटनपछि यात्रुका लागि खुला गरिने उहाँले बताउनुभयो ।
रेल सञ्चालनका लागि कर्मचारी व्यवस्थापन भइसकेको बताउनुहुँदै महाप्रबन्धक झाले रेल लिक अवरोध हुनेगरी लगाएका हाटबजार व्यवस्थापन, टहरा छाप्रो हटाउने कार्य भइरहेको जानकारी दिनुभयो । इन्जिन, बोगी, लिक, ट्रयाक, लाइट र सङ्केत लाइटलगायत उपकरणहरुको परीक्षण गरी तयारी अवस्थामा राखिएको र थप त्रुटि परीक्षणको क्रममा फेला परेमा मर्मत सम्भार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
२०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेशनबाट ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ ।