logo
२०८१ जेष्ठ ५ शनिवार



सैनिक सङ्ग्रहालय हस्तान्तरण

खुला |
प्रदेश |


सैनिक सङ्ग्रहालय हस्तान्तरण


रेखीराम राना
पाल्पा, माघ २७ गते । नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले बनाएको सैनिक सङ्ग्रहालय पाल्पा दरबार सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ । लुम्विनी प्रदेश सरकार, गोरखदल गण र नेपाली सेनाको सहयोगमा निर्मित ‘सैनिक सङ्ग्रहालय’ पाल्पा दरबार सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको हो ।

सैनिक सङ्ग्रहालयको निर्माण कार्य सकिएकाले पाल्पा दरबार सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको गोरखदल गणका गणपति जनककुमार बस्नेतले जानकारी दिनुभयो । पाल्पा दरबारभित्र विगत दुई वर्षदेखि पाँचवटा कक्षमा सैनिक सङ्ग्रहालयको निर्माण भइरहेको थियो । बिहीबार एक कार्यक्रमबीच गोरखदल गणका गणपति बस्नेतले डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दिपक ज्ञवालीलाई सो सङ्ग्रहालयको आवश्यक कागजातसहित जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।

तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाही र नं. २२ का बाहिनीपति सहायक रथी टिकाराम गुरुङ्को उपस्थितिमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । सैनिक सङ्ग्रहालयभित्र सेनाको विषयमा जानकारी दिने पाँचवटा कक्ष तयार गरिएको बस्नेतले बताउनुभयो । सङ्ग्रहालयभित्र नेपाल अङ्ग्रेज युद्धताका तत्कालिन नेपाली सेनाले प्रयोग गरेका घरेलु हतियार, बस्दोबस्तीका सामान, तोप, गोला, पोशाक लगायत सङ्ग्रह छन् ।

सेनाको विषयमा इतिहासदेखि वर्तमानसम्म अध्ययन् गर्ने स्वदेशी र विदेशीका लागि सैनिक सङ्ग्रहालय उपयुक्तस्थल बन्ने विस्वास गरिएको छ । पाल्पा दरबार सङ्ग्रहालयभित्र अब नेपाली सेनाको ऐतिहासिक जानकारी, मगर, थारु, कुमाल, ब्राह्मण, नेवार लगायतका समुदायको इतिहास झल्कने सामग्री सङ्ग्रह गरिएको छ ।

यस्तै लुम्विनी प्रदेशभित्रका ऐतिहासिकस्थल तथा पर्यटकीय स्थलको तस्बिर समेत राखिएको छ । लुम्विनी प्रदेश सरकारले पाल्पा दरबार सङ्ग्रहालयलाई सञ्चालन एवं व्यवस्थापन गर्न दरबार सङ्ग्रहालय विकास समिति गठन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?