logo
२०८१ जेष्ठ २ बुधवार



रङ्गशाला निर्माणका लागि फेरि राजनीतिक पहल शुरु

खुला |
प्रदेश |


रङ्गशाला निर्माणका लागि फेरि राजनीतिक पहल शुरु
११ वर्ष अघि रङ्गशाला बनाउनका लागि माटो सम्याउँदै


विष्णुप्रसाद पोखरेल
दमक, माघ २८ गते । झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुंगी नजिकै निर्माणाधीन आदिवासी रङ्गशाला निर्माणका लागि फेरि राजनीतिक पहल शुरु भएको छ । आदिवासी रङ्गशालाको नामबाट काम शुरु भए पनि पछि मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला नाम परिवर्तन गरेर यहाँ रङ्गशाला बनाउन प्रस्ताव भएसँगै यहाँ विवाद हुँदै आएको छ ।
यस क्षेत्रमा रहेका ७ सय ४५ चिहान हटाएर दिवंगतहरुको सम्मान र सम्झनामा अन्तर्राष्ट्रिय स्तरको ‘आदिवासी रङ्गशाला’सहित स्मृति पार्क निर्माण गर्ने भनिएकोमा एकाएक नाम परिवर्तन गरेर मदन भण्डारी अन्तराष्ट्रिय रङ्गशाला बनाउने भनेपछि यसलाई आफूहरुले अस्वीकार गरेको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुमसिं राईले बताउनु यो ।
वि.सं.२०६६ सालमा रङ्गशाला निर्माणधीन क्षेत्रमा रहेका ७४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी रङ्गशाला’सहित स्मृति पार्क निर्माण गर्ने सहमति भएको तर झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी रङ्गशाला बनाउने भनेर विवाद निकालेको आरोप लाग्दै आएको छ ।
नेपाली काँग्रेससहित अहिलको गठबन्धन सरकारमा रहेका राजनीतिक दलहरुको स्थानीय प्रतिनिधि मण्डलले सरोकारवाला निकाय तथा मन्त्रीहरुलाई भेट गर्दै आदिवासी रङ्गशाला निर्माणका लागि पहल गरिदिन आग्रह गरेको हो । स्थानीय काँग्रेस नेता  राईका अनुसार गृहमन्त्री बालकृष्ण खाँडसँग बिहीबार भेटेर यस विषयमा जानकारी गराइएको छ ।
सरोकारवाला मन्त्रालय तथा मन्त्रीहरुलगायत प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरुलाई पनि भेटेर यस बिषयमा जानकारी गराइँदै आएको अर्का काँग्रेस नेता राजु न्यौपानेले बताउनुभयो ।
प्रतिनिधि मण्डलमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङदम्बे, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य महेन्द्र कुमारी सुब्बालगायतले गृहमन्त्रीसहित सरोकारवालाहरुलाई आदिवासी रंगशाला तथा स्मृति पार्कलाई बजेट विनियोजन गरेर काम अघि बढाउन अनुरोध गरेको हो ।
यस रङ्गशाला तथा पार्कका लागि सरकारले पहिलो पटक आर्थिक वर्ष २०६७/०६८ मा एक करोड बजेट विनियोजन गरेको थियो । दोस्रो पटक पनि आर्थिक वर्ष २०७०/०७१ मा डेढ करोड र तेस्रो पटक आर्थिक वर्ष २०७१/०७२ मा ३५ लाख रुपियाँ बजेट आए पनि त्यसपछि भने अहिलेसम्म यो प्राथमिकतामा परेको छैन । आर्थिक वर्ष २०७३/०७४ मा पनि ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला’को नाममा एक करोड बजेट विनियोजन भए पनि विवादका कारण यो रकम फिर्ता भएर काम हुनसकेन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?