logo
२०८१ बैशाख २३ आईतवार



हिमपातले कर्णालीको सडक आयोजनाको निर्माण कार्य रोकियो

खुला |
प्रदेश |


हिमपातले कर्णालीको सडक आयोजनाको निर्माण कार्य रोकियो


राजन रावत
हुम्ला, माघ २८ गते । कर्णाली करिडोरको निर्माणको जिम्मा पाएको हिल्सा सिमकोट सडक आयोजनाका बाह्रवटा सडक तथा पुलको निर्माणकार्य रोकिएको छ । पटक पटक हिमपात हुँदा निर्माणस्थलमा दुई फिटभन्दा बढी हिउँ जमेपछि निर्माणकार्य रोकिएको हो ।

कर्णाली करिडोरकै क्षेत्रमा पर्नेे सिमकोट हिल्सा सडकखण्ड अन्तर्गतको हेक्पा खोला पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी सपना धुलीखेल जेभीका स्थानीय प्रतिनिधि गणेश महतले बाक्लो हिमपातले निर्माण भइरहेको पुलको कार्य रोकिएको बताउनुभयो । पुल निर्माणकार्य भइरहेका बेला निर्माणस्थलमा साढे दुई फिट हिउँ जमेको कारण काम रोक्नुपरेको हो उहाँले भन्नुभयो ।

बिहीबार मौसममा सुधार आएको भए पनि निर्माण क्षेत्रमा बाक्लो हिउँ जमेको कारण कामदारले काम गर्न नसक्ने अवस्था आएपछि हिउँ नपग्लिएसम्म काम गर्न नसकिने बताउनुभयो । हिल्सा सिमकोट सडक आयोजनाका कम्प्युटर अप्रेटर अर्जुन रोकायाले हिमपातले उत्तरी क्षेत्रका कर्णाली करिडोरका बाह्रवटा आयोजनाको काम प्रभावित भएको जानकारी दिनुभयो ।

यसअघि परेको हिउँ नपग्लिएकै बेला बुधवार पुनः हिउँ परेको कारण सडक निर्माणको काम अवरुद्ध भएको बताइएको छ । हिमपातले निर्माणकार्य अवरुद्ध भएका आयोजनामा चारवटा पुलमा हेक्पा खोला, ताक्रु खोला, सल्ली खोला र याङ्गार खोला रहेको बताउनुभयो । त्यसैगरि सडक निर्माण आयोजनामा हिल्सा तुम्कोट खण्डको सडक ग्राबेलिङ कार्य, इलिङ क्षेत्रको सडक विस्तार, याल्वाङ क्षेत्रको सडक विस्तार, च्याछरा सडक निर्माण, हेक्पा खोलाबाट च्याछरा सडक निर्माण, सिमकोट हेक्पा खोलाको सडक निर्माण, सिमकोट खार्पुको सडक निर्माण र खार्पुदेखि छारे खण्डको सडक निर्माणको काम हिमपातका कारण अवरुद्ध भएका छन् ।

हिउँ जमेको कारण निर्माण कार्य सुरु हुन केही समय लाग्ने निर्माण कम्पनीले बताएको छ । त्यसैगरी सिमकोट र नाम्खा गाउँपालिकाका दुई दर्जनभन्दा बढी निर्माणका कार्य अवरुद्ध भएको गाउँपालिकाले जनाएका छन् । बाक्लो हिमपातको कारण नाम्खा गाउँपालिकामा विकास निर्माणका कार्य मात्र नभई अन्य विकासे गतिविधि पनि गर्न नसकिने अवस्था आएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?