गोकर्ण पौडेल
तुलसीपुर, माघ २८ गते । तुलसीपुर उपमहानगरपालिका ५ (ङ) लाइनमा गएराति २ बजेदेखि शुरुभएको आगलागीमा पाँच जनाको मृत्यु भएपछि तुलसीपुरबजार शोकमय भएको छ । पाँच जनाको मृत्यु भएपछि तुलसीपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्शले शुक्रबार बजारका सम्पूर्ण पसलहरु बन्द गरिएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले शोकमा एक दिन बजार बन्द गरिएको बताउनुभयो । त्यसैगरी चेम्बर अफ कर्मशका अध्यक्ष टोपबहादुर घर्तीले शोकमा बजारका सबै पसल बन्द गरिएको बताउनुभयो । निधनप्रति नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रले विज्ञप्तिमाफ्त दुःख प्रकट गरेका छन् ।
गएराति २ बजेदेखि वडा ५ मा (ङ) लाइनमा रहेको इरम फुट वेयर चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्याम अर्यालकाअनुसार मृतकमध्ये चार बालबालिका र एक जना पुरुष रहनुभएको छ ।
अर्यालले दिएको जानकारीअनुसार मृतकमध्ये अर्घाखाँची घर भई तुलसीपुर बस्दैआउनुभएका ४० वर्षिय नजरदिन अलि, उहाँका १३ वर्षिया छोरी सजिता खातुन, छोरा पाँच वर्षिय अबिदीन अली रहनुभएको छ । त्यसैगरी सुर्खेतका १६ वर्षिय मसिन बकस र उहाँका भाइ १४ वर्षिय नहसन बकस रहनुभएको छ ।
पाँचै जनाको शुक्रबार राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । तुलसीपुर घोराही उपमहानगरपालिकाका दमकल, सेना, प्रहरी, स्थानीयवासीको प्रयासले बिहान ७ बजे आगो नियन्त्रणमा आएको थियो । क्षतिको पूर्ण विवरण आउनेक्रममा रहेको प्रहरी प्रमुख श्याम अर्यालले बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रबारदेखि नै पीडितहरुका लागि रातह संकलन सुरु गरेको बताएको छ ।