सनम महर्जन
ललितपुर, माघ २८ गते । माघ ८ शनिबार राती ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलमा २० दिनपछि भेटिएको मूर्ति सार्वजनिक गरेको हो ।
गए राती ललितपुरको हात्तीवन क्षेत्रमा रहेको करूणामयको मन्दिर क्षेत्रमा बोरामा पोको पारी फालेको अवस्थामा सो मूर्ति फेला परेको सुनाकोठीका वडा अध्यक्ष बाबुराजाले जानकारी दिनुभयो ।
महर्जन भन्नुहुन्छ, ललितपुर हात्तीवनका स्थानीय बुढी आमाले बोरामा राखेको अवस्थामा मूर्ति देख्नुभएको हो । र २६ वडाका अध्यक्ष पनि मर्निङ वाक जाने क्रममा हल्ला भएपछि उहाँले महर्जनलाई खबर गर्नुभए लगत्तै उहाँ त्यहाँ पुग्नुभएको हो ।
त्यहाँबाट मूर्ति महानगरीय प्रहरी परिसर जावलाखेल लगिएको हो । मूर्ति भेटिएको जानकारीपछि गुठीका सदस्यहरू बाजागाजासहित प्रहरी परिसर जावलाखेल पुगेका हुन् ।
सुनाकोठीमा हर्षउल्लास छाएको छ, महर्जनले भन्नुभयो । सुनाकोठीका हरेक घरबाट खुशीयाली मनाउँदै अबिर जात्रामा सामेल हुनुभएको उहाँले जानकारी दिनुभयो । बालकुमारी माई आफ्नो स्थानमा पुनफर्किनुभएकोमा सुनाकोठीका बासिन्दामा खुशीयाली छाएको महर्जनले बताउनुभयो ।
मूर्ति भेटिएपछि बाजागाजासहित मन्दिरमा भित्र्याइएको छ ।
गुठीले मूर्ति भेटिएको सूचना दिनेको नाम गोप्य राखिने र पाँच लाख पुरस्कार दिने अपिलसमेत निकालेको थियो । मूर्ति चोरीको अनुसन्धान गर्न ललितपुर परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो । मूर्ति चोरीको विषयमा हालसम्म कसैलाई पक्राउ नगरेको प्रहरीले जनाएको छ ।
बालकुमारी मन्दिर सुनाकोठी क्षेत्रको प्रमुख मन्दिर हो । हरेक वर्ष मङ्सिर पूर्णिमा र चैत पूर्णिमामा बालकुमारी देवीको जात्रा गरिन्छ । चोरी भएको उक्त मूर्ति २५० देखि ३०० वर्ष पुरानो भएको अनुमान छ ।