logo
२०८१ जेष्ठ ५ शनिवार



अग्ला सिमलका रुख नकाट्न संरक्षणकर्मीको आग्रह

खुला |
प्रदेश |


अग्ला सिमलका रुख नकाट्न संरक्षणकर्मीको आग्रह


अमरराज नहर्की
तनहुँ, माघ २८ गते । गिद्धले बच्चा कोरल्ने समय भएकाले पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा अग्ला सिमलका रुख नकाट्न संरक्षणकर्मीले आग्रह गरेका छन् । तनहुँका प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला समक्ष गिद्ध संरक्षणकर्मीले शुक्रबार सो आग्रह गरेका हुन् ।

शुक्लागण्डकी नगरपालिका –२ गाछेपानी रहेको सिमलको रुखमा लोपोन्मूख अति सङ्कटासन्न सूचीमा परेको सोनो खैरो गिद्धको गुण रहेको रुख काटिदिएकाले बच्चा नै मरेको गिद्ध विज्ञ समुह सदस्य तथा पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालले बताउनुभयो । ‘गिद्धले गुँड लगाएर बच्चा हुर्काइरहेको अवस्थामा सिमलको रुख काट्नेक्रममा बच्चा मर्न पुग्यो, अन्य स्थानमा पनि बच्चाहरु हुर्कदै गरेका हुन सक्छन् त्यसतर्फ ध्यान दिईनुपर्छ’ उहाँले भन्नुभयो ।

गिद्धको अध्ययन र संरक्षणका गतिविधिमा निरन्तर क्रियाशील ढकालले भन्नुभयो । लोपोन्मूख अति सङ्कटासन्न सूचीमा रहेका गिद्धले यतिबेला बच्चा हुर्काउने हुनाले केही समय सिमल रुख काट्न नहुने ढकालले बताउनुभयो । पोखरा पन्छी समाजले पुस २० गते शुक्लागण्डकी नगरपालिकाको कार्यालय र सडक डिभिजन कार्यालय दमौलीमा रुख नकाट्न जानकारी गराउँदा समेत रुख कटान भएकाले सरोकारवालाले गुनासो गरेका छन् ।

सङ्कटासन्न प्रजातिका पशुपन्छी संरक्षण गर्नु सरोकारवाला सबैको कर्तव्य हुँदाहुँदै पनि संरक्षण गर्न सरोकारवाला निकायमा जानकारी गराउँदा गराउँदै समेत रुख कटान भई संरक्षण हुन नसकी क्षती हुन पुगेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो ।

रुख कटान नजिकै अर्को ठूलो सिमलको रुख समेत रहेकाले त्यस रुखमा त्यस गिद्धले गुँड लगाउन सक्ने सम्भावना भएको बताइएको छ । त्यो रुख नकाटी संरक्षण गर्ने व्यवस्था मिलाउन शुक्लागण्डकी नगरपालिका र डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

त्यस सम्बन्धमा स्थलगत अध्ययन र छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिने उपायको पहिचान गरी संरक्षणको लागि सञ्चार माध्यममार्फत प्रचार गर्ने व्यवस्था डिभिजन वन कार्यालयले मिलाउने बताउनुभयो । करिव डेढ महिना सिमलका रुख नकाट्ने हो भने गिद्धले बच्चा हुर्काउन सक्ने संरक्षणकर्मीले बताएका छन् । प्रमुख जिल्ला अधिकारीले विद्युतीय पोलहरु सार्न बाँकी रहेकाले करिव ६ महिनासम्म त्यस्ता रुख जोगाउन समस्या नपर्ने बताउनुभयो ।

सरोकारवालाको छलफलमा गिद्धलाई नेपाली समाजले अशुभ ठान्ने भएकाले गुँड भत्काउन लगाउने चलनले गिद्ध लोप हुँदैगएको संरक्षणविदहरुको भनाई छ । त्यसकालागि जनचेतना जगाउन आवश्यक रहेको उहाँहरुले बताउनुभयो । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले सिमलको रुखमा गिद्धको गुँड रहेको जानकारी प्राप्त नभएको र कसैले पनि जानकारी नदिएकाले संरक्षणका लागि समन्वय हुन नसकेको बताउनुभयो ।

शिकारी चरा समुह अन्तर्गत पर्ने गिद्ध ठूला आकारका मांसाहारी हुन् । यिनले आफैले शिकार गर्दैनन् । मरेका जनावरको मासु अर्थात सिनो र मासुजन्य फोहोर पदार्थ खाएर वातावरण सफा गर्छन् । जनावरको सिनो र मासुजन्य फोहोर पदार्थ आहारा बनाएर हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्राकृतिक कुचिकार पनि भन्ने गरिएको उहाँहरुको भनाई छ ।

एक चिनियाँ कम्पनीले पृथ्वीराजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा फराकिलो गर्ने काम गरिरहेको छ । चार लेनको सडक निर्माणका लागि रुख काट्ने काम भइरहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पुरा गर्नेगरी योजना बनाएको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो गर्ने योजना कम्पनीको छ । सो कम्पनीले सडक फराकिलो गर्न ६ अर्ब १४ करोड रुपियाँको ठेक्का पाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?