logo
२०८१ बैशाख १४ शुक्रवार



चमेलिया लिफ्टीङ बृहत खानेपानीको काम सुस्त

खुला |
प्रदेश |


चमेलिया लिफ्टीङ बृहत खानेपानीको काम सुस्त


लोकेन्द्र जोशी
दार्चुला, माघ २८ गते । खानेपानीको चरम अभाव भोगिरहेका लेकम गाउँपालिका–२ कुणी, कुसकाडालगायत दर्जनौँ बस्तीमा खानेपानी पुर्याउन चमेलिया लिफ्टीङ बृहत खानेपानी आयोजनाको काम सुरु भएपनि काम सुस्त गतिले चलिरहेको स्थानीयले बताउनुभएको छ । निर्माणको जिम्मा पाएको भिमेश्वर एलबी एण्ड एबी जेभि कैलालीले निर्माणको काम अघि बढाएको निर्माण व्यवसायी केशबबहादुर पालले जानकारी दिनुभयो ।

अहिले सेजालीमा ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि जमिनमा विवाद सिर्जना भएकोले काममा ढिलाइ भइरहेको निर्माण व्यवसायी पालले बताउनुभयो । चमेलिया नदी किनारको राम मन्दिर क्षेत्रबाट पानी लिफ्टीङ गरेर खानेपानीको समस्या भएका सुख्खाग्रस्त दर्जनौँ बस्तीमा खानेपानी लग्न आयोजना लागु गरिएको हो ।

नदी किनारको मूल ट्यांकीबाट माथि सेजालीमा ट्रिटमेन्ट प्लान्ट (खानेपानी फिल्टर गर्ने ट्यांकीहरु) निर्माणका लागि जमिन हेरिएको थियो । उक्त ट्यांकीहरु निर्माण गर्न जग्गादाताहरुले विगतमा जमिन दिने सहमति गरेका थिए । उपभोक्ता समितिका एक सदस्यले भन्नुभयो, “अहिले जमिनमा विवाद सिर्जना गर्न खोजिए पछि काममा ढिलाइ भइरहेको छ ।”

जमिनको समस्या समाधान नहुँदा काम गर्न ढिलाइ भइरहेको निर्माण व्यवसायी पालले बताउनुभयो । दुई बर्षभित्र खानेपानीको काम सम्पन्न गर्ने गरेर चालु आर्थिक बर्षको असार महिनामा सम्झौता गरेका हौँ, निर्माण व्यवसायी पालले भन्नुभयो, “छिटो छरितो काम गर्ने योजना भएपनि जमिनको समस्या समाधान नहुँदा काममा अवरोध सिर्जना भएको छ ।”

खानेपानी तथा ढल व्यवस्थापन विभाग, जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाबाट प्राप्त तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरबाट सञ्चालित चमेलिया खानेपानी आयोजना कुणी कुसकाडामा जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाको निर्देशिका बमोजिम उपभोक्ताहरुले जम्मा गर्नुपर्ने एक प्रतिशत रकम लेकम गाउँपालिकाले व्यहोरेको छ । २५ करोड बजेट रहेको उक्त आयोजनामा लेकम गाउँपालिकाले २४ लाख ९८ हजार ७५ रुपिँया गत बर्ष जम्मा गरेको गाउँपालिकाका अध्यक्ष परमानन्द जोशीले जानकारी दिनुभयो ।

उपभोक्ता समिति गठनमै राजनीति खिचातानी भएको उक्त आयोजनामा अहिले पनि निर्माणको काम तिब्रताका साथ अघि बढ्न नसकेको स्थानीय उपभोक्ताको गुनासो छ । आयोजना निर्माणका लागि पहिलो चरणमा १६ करोड बढीको ठेक्का आह्वान भएकोमा १२ करोड बढी बजेटमा भिमेश्वर एलबी एण्ड एबी जेभि कैलालीले निर्माणको जिम्मा पाएको छ । उक्त आयोजना सम्पन्न भएपछि लेकमका १३ सय घरधुरीका पाँच हजार बढी नागरिक लाभाम्बित हुने बताइएको छ ।

खानेपानी अभावमा स्थानीयले पिठ्युमा घण्टौँ खानेपानी बोकेर जोहो गर्नुपर्ने बाध्यताको अन्त्य गर्न पटक पटकको पहलपछि खानेपानी आयोजना लागु भएको उपभोक्ता समितिका कोषाध्यक्ष जयदेब भट्टले बताउनुभयो । आयोजना छिटो निर्माण सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?