logo
२०८० चैत्र १६ शुक्रवार



साईपालमा भोकमरी : खाद्यान्न ढुवानीको माग

खुला |
प्रदेश |


साईपालमा भोकमरी : खाद्यान्न ढुवानीको माग


शैलेन्द्र रोकाया
बझाङ, माघ २८ गते । गत साता भएको हिमपातका कारण चिनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको साईपाल गाउँपालिका जाने बाटो अबरुद्ध भएपछि खाद्यान्न ढुवानी हुन नसक्दा भोकमरी हुने स्थानीयमा चिन्ता बढेको छ ।

गाउँपालिका केन्द्र काँडामा राखिएको मौन्दात चामल समेत सकिएको एक साता बितिसक्दा पनि खाद्यान्न ढुवानीमा सरोकारवाला निकायले चासो नदेखएका कारण गाउँमा भोकमरी हुने चिन्ता बढेको हो । सडक सञ्जाल समेत नजोडिएको सो गाउँपालिका जाने एक मात्र घोरेटो साइपाल गाउँपालिकाको नाग्नाको लेक (रस्या) लगायत बिभिन्न ठाउँमा हिमपातले बाटो अबरुद्ध बनेको छ ।

साईपाल गाउँपालिकाको धुली, न्युना, बलौडी र काँडामा खाद्यान्न अभाबले स्थानीयबासीले कन्दमुल लगायतका बैकल्पिक बस्तुको प्रयोग गर्नुपर्ने अबस्था आइपरेको स्थानीयबासीको भनाई छ । “पैचो गरेर जसको घरमा चामल छ उसलाई मागेर दिनको एक छाक भएपनि जेनतेन टारी रहेका छौ, धुलीका स्थानीय रामबहादुर बोहराले भन्नुभयो ।

खाद्यान्न ढुवानीका लागि पटक पटक जिल्ला प्रशासन धाउँदैगरेका स्थानीयले पुनः शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न ढुवानी गर्न पहल गरिदिन आग्रह गरेका छन् । छिटोभन्दा छिटो खाद्यान्न ढुवानीको पहल गरिदिन आग्रह गरेका छौ, स्थानीय उज्वल बोहराले भन्नुभयो । गाउँमा खाद्यान्न मात्र नभई दैनिक उपभोग्यबस्तुको समेत अभाब चुलिएको स्थानीयको भनाई छ ।

सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दुरिमा रहेको साईपाल गाउँपालिकामा बर्षेनी सदरमुकाम चैनपुरबाट खाद्यान्न ढुवानी गर्दैआएको थियो । साईपाल गाउँपालिका रस्याको उकालो, कायाँ लगायतका ठाउँहरुमा अहिले पनि झण्डै चार फिट हिउँ जमेपछि साईपाल गाउँपालिको काँडा, घुली, बलौडी र न्युनामा खाद्यान्न अभाव कायमै छ । साईपाल गाउँपालिकामा खच्चरमार्फत ढुवानी गरिदैआएको छ ।

खाद्यान्न ढुवानीको बैकल्पिक ब्यवस्था नभएपछि हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने स्थानीयको माग छ । साईपाल गाउँपालिका २ र ३ को बीचमा पर्ने रस्याको लेकमा घाम पनि नलाग्ने हुनाले हिउँ पग्लन समय लाग्ने स्थानीयको बुझाई छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले गाउँपालिका, सीमा प्रहरी कार्यालय धुली, काँडा र खाद्य संस्थानको प्रतिबेदनको आधारमा साईपाल गाउँपालिकाका ३ वटा वडाहरुमा खाद्यान्न अभाब भएको जानकारी आएको बताउनुभयो । हेलिकप्टरबाट खाद्यान्न ढुवानीका लागि पत्र लेखिपठाएको जानकारी उहाँले दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?