logo
२०८१ बैशाख ६ बिहीवार



भारतीय निर्वाचनका लागि नेपाल–भारत सीमानाका बन्द

खुला |
प्रदेश |


भारतीय निर्वाचनका लागि नेपाल–भारत सीमानाका बन्द


लोकेन्द्र जोशी
दार्चुला, माघ २९ गते । भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमा बन्द गरिएको छ । १४ फेब्रुअरी २०२२ मा हुने चुनावलाई लक्षित गरी माघ २८ गते बेलुकी ५ बजेदेखि फागुन ३ गते बिहान ७ बजेसम्मका लागि नेपाल–भारत सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

दार्चुलामा नेपाल–भारत जोड्ने खलंगा, लाली, जोलजिवि, दत्तु, तिग्रम र सीतापुल गरी ६ वटा सीमापुलसहित दार्चुला र बैतडीका सीमा नाकाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । सीमापुलहरु दैनिक बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नेपाल–भारत आवत–जावतका लागि खुला गर्ने गरिएको छ ।

निर्वाचनको समयमा ११ फेब्रुअरीदेखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनले समेत जानकारी गराएको छ । दुबै देशमा निर्वाचनको समयमा सीमा क्षेत्रमा निगरानी गर्ने, शान्ति र सुरक्षा व्यवस्थापनका लागि सहकार्य गर्ने गरिएको छ ।

केही दिन पहिले सम्पन्न नेपाल–भारत सीमा अधिकारीहरुको भर्चुअल बैठकमा सीमानाका बन्द गर्ने विषयमा सहमति भएको थियो । यसअघि सम्पन्न भएका नेपाल र भारतका सबै निर्वाचनमा ४८ देखि ७२ घण्टासम्म सीमा नाकाहरु बन्द गर्नेगरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

सीमानाका बन्द हुँदा दैनिक आवतजावत गर्ने स्थानीय, उपभोक्ता, व्यापारी र मजदुरहरु समस्यामा परेको बताएका छन् । निर्वाचन सम्पन्न भएपश्चात् दार्चुला र बैतडीका सबै सीमानाका पुर्ववत समयमा खुला रहने बताइएको छ । सीमा बन्द भएपनि नाकाहरुमा सुरक्षाकर्मीहरुको गस्ति तथा नियमित उपस्थिति छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?