logo
२०८१ बैशाख २२ शनिवार



आइतबारबाट पूर्ण रुपमा विद्यालय खुल्दै

खुला |
प्रदेश |
शिक्षा |


आइतबारबाट पूर्ण रुपमा विद्यालय खुल्दै


बेलिना थापा
लमजुङ, माघ २९ गते । लमजुङका विद्यालय फागुन १ गते आइतबारदेखि पूर्ण रुपमा सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङले फागुन १ गतेबाट विद्यालयहरु सञ्चालनका लागि अनुमति दिएको छ । प्रशासनले एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड अपनाएर नियमित विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यकाअनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालना गरी फागुन १ गतेबाट सञ्चालन गर्न सकिनेछ ।

लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्यमा आइपर्ने समस्यालाई विचार गर्दै विद्यालय सञ्चालनको अनुमति दिएको प्रशानले जनाएको छ । विद्यालय सञ्चालन गर्दा १२ बर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा विद्यार्थी संख्या समेत विचार गरी विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था गर्न भनिएको छ ।

यसका लागि सम्बन्धित स्थानीय तहसँगको समन्वय गर्न अनुरोध गरिएको छ । यस्तै, डान्सबार, दोहोरी, नाँचघर, लाउन्ज, क्लब, लगायतका रात्रीकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, तथा फुटसल जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्न अनुमति दिएको छ । राति १० बजेमा नबढ्ने गरी सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण कायमै रहेकाले सबै प्रकारका आमसभा, जुलुस, भेला, मेला, सम्मेलन, जात्रा, महोत्सव, मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम गर्न नपाइने भएको छ ।

संक्रमण रोकथाम, निदान र उपचारलाई प्रभावकारी बनाउन कोभिड १९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८, संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी फागुन १ गतेबाट अर्को सूचना नभएसम्मका लागि उक्त आदेश लागु गर्न प्रशासनले निर्देशन दिएको छ ।

कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार र निगरानीका लागि आम नागरिकलाई जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न, घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । यस्तै, घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा खोपकार्ड (मोबाइलमा भएपनि) राख्न, सार्वजनिक स्थलमा दुई व्यक्तिबीच कम्तिमा २ मिटरको भौतिक दूरी कायम राख्न, अनिवार्य रुपले मास्कको प्रयोग गर्ने, पटक पटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न भनिएको छ ।

प्रयोग गरिएका मास्क विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टबिन वा प्लास्टिक झोलामा बन्द गरी सुरक्षित साथ राखी पाँच दिनपछि मात्र विसर्जन गर्ने, घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्ने र प्रयोग गरेका मास्क नफाल्ने, विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्रयाक्ट टे«सिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए पनि कम्तीमा पाँच दिन होम क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरिएको छ । पीसीआर परीक्षणका लागि प्रयोगशालामा स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल भेटघाट र बैठक नगर्न अनुरोध गरेको छ ।

कुनैपनि व्यक्तिले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा स्थानीय तह, स्थानीय प्रशासन, स्वास्थ्य संस्था, टोल सुधार समिति, उपभोक्ता समिति, वा सम्बद्ध निकाय वा संस्थालाई यथाशिध्र जानकारी गराउन भनिएको छ । होम आइसोलेसनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जान भनिएको छ । नेपाल सरकारले तोके बमोजिम कोभिड १९ विरुद्धको खोप लगाउन पनि प्रशासनले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?