logo
२०८१ जेष्ठ ५ शनिवार



बागलुङमा विद्युतीय राहदानी फाराम संकलन सुरु

खुला |
प्रदेश |


बागलुङमा विद्युतीय राहदानी फाराम संकलन सुरु


नविन शिशिर विक
बागलुङ, माघ २९ गते । जिल्ला प्रशासन कार्यालय बागलुङले करिव एक महिनापछि जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) को फाराम संकलन गर्न सुरु गरेको छ । प्रशासनले शुक्रबारदेखि ई–पासपोर्टको लागि फाराम संकलन गर्न थालेको हो ।

जिल्लामा मंसिर १ गतेदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को फाराम संकलन कार्य स्थिगित गरिएको थियो । मंसिर १५ गतेसम्मका लागि भनेर स्थगित भएको राहदानी फाराम संकलन कार्य ई–पासपोर्टको फाराम संकलन प्रविधि जडान गर्न ढिला हुँदा एक महिना लागेको बताइएको छ ।

अब नियमित रुपमा फाराम संकलन गरी विभागको सिस्टममा अपलोड हुने जिल्ला प्रशासन कार्यालय राहदानी शाखाका प्रमुख नायव सुब्बा तेजराज गौतमले जानकारी दिनुभयो । एमआरपी दैनिक बीस पच्चीस फारामा संकलन भए पनि ई–पासपोर्टको संख्या त्यही मात्रामा गर्न कठिन हुने उहाँको भनाई छ । नयाँ प्रविधि भएको हुँदा सुरुका केही महिनामा लक्ष्यअनुसारको फाराम संकलनमा कठिन भएपछि अभ्यस्त हुँदै गएपछि पुरानै संख्यामा फाराम संकलन हुने बताइएको छ ।

विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । राहदानी सुरक्षित र व्यक्तिको सबै विवरण हुनेगरी तयार पारिएको छ । सरकारले मंसिर १ गतेदेखि ई–पासपोर्ट लागु भएसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो । मंसिर २८ गतेदेखि पूर्णरुपमा एमआरपी वितरण बन्द भएको छ । एमआरपी राहदानीलाई प्रतिस्थापन गर्दै सरकारले विद्युतीय राहदानी प्रचलनमा ल्याएको हो ।

प्रशासन कार्यालयबाट अनलाईन फर्म भर्ने र कागजातहरु सिस्टममा अपलोड गर्नुपर्ने हुन्छ । ई पासपोटको लागि आवेदन पेश भएको १५ दिनभित्र विद्युतीय पासपोर्ट प्राप्त नायव सुब्बा गौतमको भनाई छ । राहदानी विभागकाअनुसार हालको राहदानीमा भएका कुराका अतिरिक्त विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको छ ।
चिपमा औँठाछाप, तस्विरलगायतका व्यक्तिगत वितरण समावेश गरिएको छ । सुरक्षाको दृष्टिले पनि यो राहदानी पक्का हुने बताइन्छ । राहदानीमा समावेश विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबद गर्न नसक्ने हुन्छ ।

विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर एउटै छ । विभागमा पहिले एक दिने, दुई दिने र तीन दिने सेवा भएकोमा हाल संशोधित राहदानी मियमावलीअनुसार दुई दिनभित्र जारी हुनेगरी द्रुत सेवाको काम गरिएको बताएको छ । दुई दिनमा तयार हुने राहदानीलाई १२ हजार रुपियाँ दस्तुर तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीको लागि पाँच हजार र ६६ पृष्ठको राहदानीलाई दश हजार रुपियाँ राजश्व लाग्ने प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले बताउनुभयो । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्ने प्रशासनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?