logo
२०८१ बैशाख ८ शनिवार



किसानद्वारा पाहुनालाई गुन्द्रुक उपहार

खुला |
प्रदेश |


किसानद्वारा पाहुनालाई गुन्द्रुक उपहार


बाबुराम शर्मा
चरीकोट, माघ २९ गते । प्रचार प्रसारका लागि दोलखाको शैलुङ गाँउपालिका –८ झोर गाँउका बासिन्दाले पाहुनाहरुलाई काउलीको पातबाट बनाइएको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहेनती किसानहरुको गाँउ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाँउको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्नेगरेको स्थानीय किसान अकुरबहादुर श्रेष्ठले बताउनुभयो ।

“घरमा खाने र पाहुनालाई उपहारको रुपमा गुन्द्रुक दिने गरिएको छ” उहाँले भन्नुभयो, “आगामी वर्षदेखि व्यवसायिक रुपमा गुन्दुक बनाउने सोच पलाएको छ । गुन्द्रुक राष्ट्रिय तरकारीको रुपमा चिनिन्छ तर प्रचार गर्न सकिएको छैन ।”

अर्का किसान दिपेश श्रेष्ठकाअनुसार काउलीको पातको स्वादिष्ट गुन्द्रुक बिक्री वितरण सुरु भइनसकेको भएपनि घरमा खाने र काठमाडौँ तथा पोखरातिर उपहारको रुपमा पठाउने गरिएको छ । केही समय प्रचार प्रचार गरी पछि व्यवसायिक रुपले गुन्द्रुक बिक्री वितरण गर्ने सोच बनाएको उहाँले बताउनुभयो ।

करिब १४० घरधुरी रहेको झोर गाँउमा प्रत्येक घरले काउली पातको गुन्द्रुक उपहारको रुपमा आफन्तलाई पठाउने र आफ्नो घरका लागि पनि आठ दश केजीसम्म बनाएर राख्नेगरेका छन् । गुन्द्रुक प्रतिकिलो दुई सय रुपियाँसम्म विक्री गर्न सकिने उहाँले बताउनुभयो ।

“यति मिठो र स्वादिलो गुन्द्रुक बन्ने काउलीका पातहरु गाईभैँसीले खाई सक्दैनन् । खेर गइरहेको छ” किसान दिपेशले भन्नुभयो । झोर गाँउका किसानहरुले प्रत्येकले कम्तीमा पनि २० रोपनीमा आलु र काउली लगाउने गरेको उहाँको भनाई छ । सो गाउँलेहरुले वार्षिक एक करोडसम्मको काउली र एक करोडकै आलु बिक्री वितरण गर्दैआएका छन् ।

आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक चार देखि पाँच लाखसम्म आम्दानी गर्दैआएको स्थानीय किसानहरुको भनाई छ । काउली बिक्री गर्दा ठूला पातहरु छाट्नु पर्ने भएकाले त्यसको उपयोगिताको लागि गुन्द्रुक बनाउने गरिएको कृषकहरुले बताउनुभएको छ । काउलीको पातको गुन्द्रुक स्वादिलो हुने भएकाले आफन्तले रुचाउने गरेको किसान दिपेशले बताउनुभयो ।

शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलालले झोर गाउँका किसानहरुले गुन्द्रुक उत्पादनका लागि सहयोग गर्न गाँउपालिकालाई अहिलेसम्म आग्रह नगरेको बताउनुभयो । माग आयो भने गाँउसभामा निर्णय गरेर पालिकाकाको तर्फबाट केही सहयोग गर्न सकिने उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?