logo
२०८१ जेष्ठ ३ बिहीवार



मुसहर समुदायले मागे जिविकोपार्जनका लागि सीप र ज्ञान

खुला |
प्रदेश |


मुसहर समुदायले मागे जिविकोपार्जनका लागि सीप र ज्ञान


भोटराज राई
उदयपुर, माघ २९ गते । उदयपुरको त्रियुगा नगरपालिकाका मुसहर समुदायले जीविकोपार्जनका लागि ब्यवसायिक सीप र ज्ञान माग गरेका छन् । उनीहरुले पेशा परिवर्तन गरी शिक्षा, स्वास्थ्य लगायत जिविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा यस्तो माग राखेका हुन् ।

मुसहर समुदायका अगुवाहरुले मेयर बलदेव चौधरीसँग अगरबत्ती बनाउने, सिलाईकटाई, दालमोठ भुजिया बनाउने, तरकारी तथा पशुपालनसम्बन्धी तालिमको माग राखेको मेयरका स्वकीय सचिव विजली सदाले बताउनुभयो । उनीहरुले आयआर्जनमुलक सीपका साथै शिक्षा, स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रम माग गरेका छन् ।

मुसहर समुदायका अगुवा मिश्रिलाल सदाकाअनुसार ज्याला, मजदुरी र बनिबुतोको भरमा जिविकोपार्जन गरिए पनि अव त्यसरी परिवार पाल्न सकिदैन । राजनैतिक, सामाजिक, आर्थिक सबै हिसावले सो समुदाय पछिपरेको छ । जमिनको स्वमित्वबाट बञ्चित, उद्यमदेखि टाढा रहेका सो समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट पनि पर रहेको सदाको भनाई छ । समुदायलाई विहान, बेलुका के खाने, के लाउने भएपछि विद्यालय जाने बालबालिका पनि बीचैमा पढाई छाड्ने गरेको उहाँको भनाई छ ।

उनीहरुलाई आयआर्जनमुलक सीप प्रदान गरेर जिविकोपार्जनमा सहजता ल्याउन र समुदायलाई अगाडि बढाउने कार्यक्रम ल्याइने मेयर बलदेव चौधरीले बताउनुभयो । उनीहरुको आप्mनो इच्छा र धारणासमेतको कदर गर्दै कार्यक्रम गरिने मेयर चौधरीको भनाई छ । सो समुदायको समग्र विकास र जीवन पद्धति परिवर्तनका लागि प्रदेश सरकारसँग विशेष कार्यक्रम प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

दुई करोड रुपियाँ बराबरको मुसहर समुदाय लक्षित कार्यक्रम स्वीकृत भएमा मुसहर समुदायको सबै बस्तिमा आधुनिक ढङ्गको घर निर्माण र आयआर्जन, शिक्षा, स्वास्थ्यको ब्यवस्था गरिने नगर प्रमुख चौधरीले बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले सो समुदायलाई उद्यमशिलता सीप र प्रविधि निःशुल्क सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । उनीहरुको परम्परागत सीपलाई परिवर्तन गरेर आयआर्जनमुलक सीपबाट जिविकोपार्जनमा सहजता ल्याउन सकिने उहाँको बुझाई छ ।

जिल्लाको एक मात्र मुसहर समुदायको जनप्रतिनिधि त्रिनपा –१२ का वडा सदस्य किसनवती सदाले त्रियुगा नगरपालिकाले सदा समुदायको हितमा कार्यक्रम अगाडि बढाएकोमा खुसी ब्यक्त गर्नुभयो । नगरपालिकाको १६ वडामध्ये १०, १४, १५ र १६ बाहेक सबै वडामा मुसहर समुदायको बसोबास रहेको छ । नगरमा ५५८ घरधुरी र जनसंख्या २ हजार ५०९ रहेको नगरपालिकाको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?