logo
२०८१ जेष्ठ ४ शुक्रवार



सहेँला फाँटमा तीन सय रोपनी जग्गामा कागती खेती

खुला |
प्रदेश |


सहेँला फाँटमा तीन सय रोपनी जग्गामा कागती खेती


नविन शिशिर विक
बागलुङ, माघ २९ गते । बागलुङ नगरपालिका –१२ अमलाचौरको सहेँला फाँट कृषकको मेहनत र परिश्रमले शृङ्गारिएको छ । बागलुङ नगरपालिका –१४ अर्माहका ४३ जना किसानले सामुहिक रुपमा गरेको कागती खेतीको रेखदेख र उत्पादनको पखाईमा रहेको बताएका छन् ।

तीन बर्ष पहिले लगाइएका कागतीका बिरुवा फुल्न थालेका छन् । चासो कृषक समुहका सदस्य र कर्मचारीलाई बिरुवाको गोडमेल, सिंचाईं र मल दिन भ्याई नभ्याई भएको छ । सयौं मुरी धान हरेक बर्ष फल्ने खेतमा किसानहरु कागतीबाट कृषिमा प्रगति खोजीरहेको बताएका छन् । २० लाख रुपियाँ लगानीबाट सुरु भएको कागतीको व्यवसायीक खेतीमा ६० लाख रुपियाँ लगानी भैसकेको कृषकको भनाई छ । तीन सय रोपनी भन्दा धेरै जमिनमा चार हजार बिरुवा हुर्किरहेको उहाँहरुको भनाई छ ।

तीन बर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एक तिहाई बिरुवा फल लाग्ने बेलामा पुगेको छ । अर्को एक तिहाई दुई बर्षे केही बिरुवाले पालुवा फेर्दैछन् । अनुदान र सहयोगका लागि सरकारी निकाय त्यहाँ पुगेका छन् भने देखासिकी गर्न जिल्लाभित्र र बाहिरबाट किसान तथा प्राबिधिकहरु आउनेगरेको समुहका अध्यक्ष केशवप्रसाद सुवेदीले बताउनुभयो ।

चितवन, मकवानपुर र कास्की र बागलुङ जिल्लाकै बिभिन्न ठाउँबाट हरेक महिना कृषि समुह र कृषि प्राबिधिहरु सहेँलाको फाँट पुग्नेगरेका अध्यक्ष सुवेदीको भनाई छ । सरकारी अनुदानमा आशा नराखी आँफैले लगानी गरेर व्यवसायीक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पाउन थालेको बताएका छन् ।

एक लाख रुपियाँ बिरुवाको ढुवानीका लागि अनुदान दिएको बागलुङ नगरपालिकाले तीन लाख खर्चेर फार्मसम्म पुग्ने सडक निर्माण गरिदिएको छ । गत आर्थिक बर्षमा कृषि ज्ञान केन्द्र बागलुङले कृषि उपकरण, मलखाद, पोखरी निर्माण र औजार खरिद लगायतका शिर्षकमा दश लाख रुपियाँ अनुदान दिएको थियो ।

हरेक बर्ष चार करोड रुपियाँको कागती उत्पादन गर्ने लक्ष्यकासाथ व्यवसायीक खेती थालेका किसानहरुले फल्न थालेको एक बर्षमा लगानी उठाएर मुनाफा कमाउने सुवेदीले आशा व्यक्त गर्नुभयो । समुहमा अबद्ध रहेका किसानलाई प्रतिरोपनी ५ हजारका दरले समुहले बार्षिक भाडा दिने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?