logo
२०८१ बैशाख २३ आईतवार



कर्पुखोला लघुजलविद्युत आयोजनाको साठी प्रतिशत काम सम्पन्न

खुला |
प्रदेश |


कर्पुखोला लघुजलविद्युत आयोजनाको साठी प्रतिशत काम सम्पन्न


राजन रावत
हुम्ला, फागुन १ गते । कर्पुखोला लघुजलविद्युत आयोजनाको काम तीब्र रुपमा भइरहेको छ । आगामी जेठ १५ गतेसम्म आयोजनाको काम सम्पन्न गरेर विद्युत वितरण गरिने भएपछि निर्माणकार्य युद्धस्तरमा भइरहेको हो ।

अयोजनाका लागि बेलायती सेनाहरुको सहयोग रहेको काँधुरी संस्थाका साइट इन्चार्ज लीला राईले एक सय किलोवाट विद्युत उत्पादन क्षमताको आयोजनाको काम तीब्र भइरहेको बताउनुभयो । नहरका लागि पाइप बिछ्याउने, पावर हाउस निर्माणको काम अन्तिम चरणमा पगेको, मेशिन निर्माणस्थलमा पुगेको उहाँले बताउनुभयो ।

उत्पादित विद्युत बितरण गरिने गाउँमा पोल गाडेर तार हाल्ने कार्य समेत भइरहेको उहाँले बताउनुभयो । सो कामलाई सहयोग गर्न स्थानीयले १२१ केजीका पेनिष्टिक पाइप ४० थान, ९० केजीका सोही पाइप ४० थान र नौ सय केजी सरिया आयोजना निर्माणस्थलमा मानिसले बोकेर ढुवानीको काम गर्नुभएको थियोे । गत कात्तिक २५ गते सो विद्युत आयोजनाको निर्माण कार्य सुरु भएको थियो ।

एक सय किलोवाट क्षमताको सो अायोजनाका लागि बेलायती सेनाहरुको सहयोग रहेको काँधुरी संस्थाले निर्माणकार्य साठी प्रतिशत सम्पन्न भएको जनाएको छ । आयोजनाले विद्युत वितरण गर्ने गाउँमा पोल गाड्ने र लाइन विस्तारको काम गरिरहेको छ । अभियानले अब निर्धारित मितिमै बत्ती बाल्ने स्थानीयको धोको पूरा हुने देखिएकोे छ ।

यसका लागि आठ करोड ४४ लाख ९८ हजार ४३८ रुपियाँ संस्थाले लागत ब्यहोर्ने भएको छ । स्थानीयले दुई करोड ५५ लाख नौ हजार साठी रुपियाँ जनश्रमदान व्यहोर्नुपर्नेछ । यसबाट ताँजाकोट गाउँपालिकाको वडा ३, ४ र ५ का ९०२ घरधुरीका पाँच हजार २३७ जनसङ्ख्या लाभान्वित हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?