logo
२०८१ जेष्ठ ४ शुक्रवार



धार्मिक स्थलहरुमा धर्मावलम्बीको चहल पहल बढ्यो

खुला |
प्रदेश |
पर्यटन |


धार्मिक स्थलहरुमा धर्मावलम्बीको चहल पहल बढ्यो


अमरराज नहर्की
तनहुँ, फागुन १ गते । तनहुँका धार्मिक पर्यटकीय स्थलहरुमा पर्यटकको चहल पहल बढेको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थलहरु आईतबारबाट खुला गरेसँगै धर्मावलम्बीहरुको चहल पहल बढेको हो ।

कोरोना सङ्क्रमण कम भएकाले सबै धार्मिक स्थलमा भक्तजनको लागि पुजा गर्न खुला गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । स्वास्थ्य मापदण्ड पालना गरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल खुला गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।

लामो समयको बन्दपछि धार्मिकस्थल खुला गरिएकोले भक्तजनको आईतबार भीड लागेको शुक्लागण्डकी–९ स्थित नगरपालिका ढोरवाराहस्थित ढोरवाराही मन्दिरका पुजारी चिरञ्जीवी लम्सालले जानकारी दिनुभयो । आईतबार मात्रै करिव २५० जना भक्तजन पुजा गर्न मन्दिरमा आएको उहाँले बताउनुभयो ।

भक्तजनको चहल पहल बढेसँगै कोरोना कहरले थलिएको धार्मिक पर्यटन व्यवसायीहरुले राहतको महशुस गरेका छन् । प्रसिद्ध धार्मिक स्थलहरु देवघाट, छाब्दीवाराही, ढोरबाराही, थानीको थान, आँधीमूल, अकलादेवी, तनहुँकालिका, सिद्धगुफा, व्यास गुफा, तनहुँसुर लगायतका धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलहरुमा चहल पहल बढेको छ ।

कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गरी मन्दिरमा पूजाको व्यवस्था गरिएको मन्दिरका पुजारीले जानकारी दिनुभयो । व्यास नगरपालिका –१३ स्थित छाब्दीवाराहीमा घुम्न आउने धार्मिक पर्यटकको चहल पहल बढेको छ । धार्मिक पर्यटक आउन थालेपछि कोरानाले थलिएको पर्यटन व्यवसायीले राहतको महशुस गरेको होटल व्यवसाय सञ्चालन गर्नुभएकी अप्सरा पन्थले जानकारी दिनुभयो ।

छाब्दीबाराही विकास कोष समितिका थानबहादुुर थापाले लामो समयसम्म मन्दिर बन्द रहँदा भक्तजनले पूजापाठ गर्न नपाएकाले सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिरमा दर्शनका साथै पूजापाठ गर्नेगरी मन्दिर खुला गरिएको जानकारी दिनुभयो ।

मन्दिर बन्द रहेको अवस्थामा पूजारीमार्फत नित्य पूजा हुँदैआएको थियो । ओमीक्रोन सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै माघ मसान्तसम्मका लागि जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद बन्द गरेको थियो ।

प्रशासनको आदेशले माघ महिनाभरी गरी एक महिनाको अवधि नित्यपूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बन्द गर्न प्रशासनले आग्रह गरेको थियो । प्रहरी राखेर लाइनबद्ध ढङ्गबाट पुजा अर्चनाको व्यवस्था मिलाइएको छाब्दीवाराही मन्दिर विकास कोषले जनाएको छ ।

एकादशी औसी र साउन महिनाबाहेक अन्य दिन मन्दिरमा बली चढाउने गरिन्छ । गत वर्ष कोरोनाका कारण भक्तजनको सङ्ख्यामा कमी आएको बताइएको मन्दिरका पुजारी टोलबहादुर आलेले जानकारी दिनुभयो । अघिल्लो वर्षमा छाब्दी बाराही मन्दिरमा वर्षेनी ३ देखि ४ लाख भक्तजन मन्दिरमा पूजा अर्चनाका लागि आउनेगरेको मन्दिरका पुजारी आलेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?