logo
२०८१ बैशाख १४ शुक्रवार



बेसहारा आमाबुवालाई निःशुल्क राशन कार्ड वितरण

खुला |
प्रदेश |


बेसहारा आमाबुवालाई निःशुल्क राशन कार्ड वितरण


लोकेन्द्र जोशी
दार्चुला, फागुन २ गते । दार्चुलाको महाकाली नगरपालिकाले छोराछोरी गुमाएका वा नभएका ६० वर्षमाथिका आमाबुवालाई निःशुल्क खाद्यान्न तथा राशन कार्ड वितरण गरेको छ । बेसहारा आमाबुवाको सहारा नगर प्रमुख कार्यक्रमअन्तर्गत निःशुल्क राशन कार्ड वितरण गरिएको हो ।

नगरपालिकाभरिका छोराछोरी नभएका १२९ जनाले राशन कार्ड पाउने नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले जानकारी दिनुभयो । अहिलेसम्म नगरपालिकाभरी १२९ जना बेसहारा आमाबुबाहरुको तथ्यांक संकलन भएको छ उहाँले भन्नुभयो । छुट भएको पाइएमा कार्यक्रममा समावेस गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि नगरपालिकाले ३६ लाख बजेट विनियोजन गरेको छ । महाकाली नगरपालिकाको चालु आर्थिक वर्ष २०७८–७९ को स्वीकृत कार्यक्रम ‘बेसहारा आमाबुवाको सहारा नगरप्रमुख’ कार्यक्रमअन्तर्गत निःशुल्क राशन कार्ड वितरण गरिएको नगरप्रमुख हंशराज भट्टले बताउनुभयो । कार्यविधिअनुसार ६० वर्षमाथिका बेसहारा आमाबुवालाई मासिक रुपमा निःशुल्क खाद्यान्न वितरण गरिने उहाँले बताउनुभयो ।

महाकाली नगरपालिकाले सबै वडामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ, नगरपालिकाका सूचना अधिकारी जोशीले भन्नुभयो, “उहाँहरुले सुपथ मूल्य पसलबाट राशन कार्डमार्फत मासिक रुपमा १५ किलोग्राम चामल, २ किलोग्राम नून, २ किलोग्राम दाल, २ लिटर तेल तथा चार–चार गोटा नुहाउने र लुगा धुने साबुन पाउनु हुनेछ । बेसहारा वृद्ध आमाबुवालाई बाचुन्जेलसम्म नगरपालिकाले खाद्यान्न उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

महाकाली नगरपालिकाले २०७६ सालदेखि प्रत्येक वडामा सुपथ मुल्यमा पसल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले थोक मुल्यमा खाद्य सामग्री किनेर ढुवानी भाडा र नाफा नजोडि खरिद मुल्यमै सामान उपलब्ध गराउनेगरेको सूचना अधिकारी जोशीले बताउनुभयो ।

सुपथ मुल्य पसल सञ्चालनका लागि नगरपालिकाले हालसम्म झण्डै ४० लाखको सामग्री खरिद गरेको छ । स्थानीयहरुले घर नजिकैको सुपथ मूल्य पसलबाट चामल, दाल, नून, तेल र साबुन तोकिएको मूल्यमा खरिद गर्न पाउने नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?