logo
२०८० चैत्र १६ शुक्रवार



घर–घरमा खानेपानी धारा पुगेपछि स्थानीय हर्षित्

खुला |
प्रदेश |


घर–घरमा खानेपानी धारा पुगेपछि स्थानीय हर्षित्


शेरबहादुर सार्की
बाजुरा, फागुन २ गते । बाजुराको बडिमालिका नगरपालिका –८ का झण्डै चार सय घरपरिवारको घर–घरमा खानेपानीको धारा निर्माण भएपछि स्थानीयहरु हर्षित् हुनुभएको छ । बडिमालिका नगरपालिकाले आर्थिक बर्ष २०७६–७७ सालमा झण्डै चार करोड रुपियाँको लागतमा सो वडामा ‘एक घर एक धारा’ निर्माण कार्य सुरु गरेको थियो । घण्टौंको बाटो हिँडेर पानी ल्याउन बाध्य हुँदैआएका स्थानीय अहिले घरमै शुद्ध खानेपानी पाएपछि दंग पर्नुभएको छ ।

बडिमालिका नगरपालिका –८ का स्थानीय गोरखबहादुर थापाले भन्नुभयो, “यसअभि गाउँमा खानेपानीको एउटा मात्र धारा थियो । त्यो धारामा पानी ल्याउन जाँदा बिहानभरी पालो कुर्दै बस्नुपथ्र्यो, अहिले घरमै धारा निर्माण भएपछि निकै सहजभयो ।”

“सिंचाइँका लागि पानी नुहँदा घर वरिपरीको जग्गा सधै बाँझो रहँदैआएको थियो, अहिले त्यो जमिनमा ठूलो ट्ङ्याकी बनाएका छौं, धाराबाट बगेको पानी त्यसैमा जम्मा गर्दैआएका छौं” उहाँले भन्नुभयो । सिंचाइ गर्न सहज भएपछि अहिले ताजा तरकारी समेत खान पाइएको उहाँले बताउनुभयो ।

बडिमालिका नगरपालिकाको राप्का, ठेकघर, राप्काथापाबाडा, बाँसठाना, मार्तडी खोलाघर, कोलडाँडा, बनघर, गडखेत, ऐडीबाडा, बाउँली लगायतका चार सय घरमा धारा निर्माण कार्य सम्पन्न भएको बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाशबहादुर रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सधै खानेपानी समस्या भोग्दै आएका वडा ८ का पाँचसय घरधुरीका स्थानीयको घरमा सफा खानेपानी पगेपछि उहाँहरु खुसी हुनुभएको छ ।” अघिल्लो चुनाबताका यहाँका स्थानीयले खानेपानीको माग राखेका थिए । त्यो माग पुर्ती गर्ने गरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गर्दै माग पूरा गरेको रावलले बताउनुभयो ।

पानीका लागि लामो समय पालो कुरेर बस्नुपर्ने बाध्यता अहिले हटेको छ, स्थानीयहरुको मुहारमा खुशी देखिएको छ बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “घर–घरमा पानीको धारा निर्माण भएपछि अब स्थानीयलाई तरकारी खेतीमा उत्प्रेरित गर्ने योजना छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?