logo
२०८१ बैशाख २० बिहीवार



तीन सातापछि सुकेटारमा उडान सुचारु

खुला |
प्रदेश |


तीन सातापछि सुकेटारमा उडान सुचारु


चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन सातापछि उडान सुचारु भएको छ । हिमपात र प्रतिकुल मौसमका कारण अवरुद्ध बनेको उडान सोमबारदेखि सुरु भएको हो । निरन्तरको हिमपात र वर्षासहित मौसम प्रतिकुल बनेपछि गत माघ १० गते सोमबारदेखि अवरुद्ध बनेको उडान तीन सातापछि सुरु भएको नेपाल वायु सेवा निगमले जनाएको छ । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूकाअनुसार मौसममा सुधार आएसँगै सोमबारदेखि उडान सुरु भएको छ ।

माघ दोस्रो सातापछि जिल्लामा निरन्तर भारी हिमपात भएको र सुकेटार विमानस्थलमा नै हिउँ परेपछि तीन सातासम्म लगातार उडान रद्द गर्नुपरेको स्टेसन इन्चार्ज लिम्बूले बताउनुभयो । मौसममा सुधार आएसँगै अब उडान नियमित हुने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार सोमबार काठमाडौंदेखि १४ जना यात्रु लिएर आएको निगमको ट्वीनअटर जहाज ताप्लेजुङबाट १७ जना यात्रु लिएर फर्किएको छ ।

तीन सातासम्म उडान अवरुद्ध हुँदा काठमाडौं–ताप्लेजुङ र ताप्लेजुङ–काठमाडौंका टिकट बुकिङ गरेका यात्रु मारमा परेका थिए । सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन नेपाल वायु सेवा निगमको उडान सञ्चालन हुनेगरेको छ । त्यस्तै, प्रतिकुल मौसमका कारण निजी विमान कम्पनी सीता एयरलाइन्सको उडान पनि पटक–पटक अवरुद्ध भएको थियो । सीता एयरलाइन्सले भने साताको एक दिन मात्र उडान सञ्चालन गर्नेगरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?