logo
२०८१ जेष्ठ ४ शुक्रवार



गाउँपालिकाका अध्यक्षहरु एमालेमा प्रवेश

खुला |
राजनीति |
प्रदेश |


गाउँपालिकाका अध्यक्षहरु एमालेमा प्रवेश


लक्ष्मण पौडेल
भैरहवा, फागुन २ गते । रुपन्देहीका दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । सोमबार एक समारोहकाबीच एमाले उपाध्यक्ष विष्णु पौडेलले गाउँपालिकाका अध्यक्षद्वयलाई पार्टीमा स्वागत गर्नुभयो ।

माओवादी केन्द्रबाट ओमसतिया गाउँपालिकाको अध्यक्ष हिरा केवट र उपाध्यक्ष सुन्दरमती हरिजन तथा जनता समाजवादी पार्टी (जसपा) बाट गत स्थानीय निर्वाचनमा अध्यक्ष जित्नुभएका रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव एमालेमा प्रवेश गर्नुभयो ।

एमाले प्रवेश गरेका अध्यक्षद्धयसँगै अन्य स्थानीय नेता तथा कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गर्नुभयो । एमालले रुपन्देहीको धकधईमा सोमबार कार्यक्रम आयोजना गरेको थियो । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीकाअनुसार ओमसतियाको सिंगो माओवादी कमिटी एक हजार २०० सदस्यसहित एमालेमा प्रवेश गरेका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा बहुमत स्थानमा जित हासिल गर्ने दावी गर्नुभयो । “२०७४ सालमाजस्तै एमालेको देशव्यापी जनलहर बढेको छ, यसबाट आगामी निर्वाचनमा बहुमत स्थानमा विजयी हुने संकेत देखिएको छ” उहाँले भन्नुभयो ।

उपाध्यक्ष पौडेलले वर्तमान सत्ता गठबन्धन निर्वाचन भाँड्ने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको आरोप समेत लगाउनुभयो । न्यायालयमाथि गरिएको पछिल्लो प्रहार त्यसको संकेत गरेको उहाँको भनाई छ ।

एमाले सचिव छविलाल विश्वकर्माले स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचनमा एमाले एक्लै प्रतिष्पर्धा गरी बहुमत स्थानमा विजयी हासिल गर्न सक्षम रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?