कमल शर्मा
दैलेख, फागुन ३ गते । जिल्ला प्रहरी कार्यालय दैलेखले ५५ लाख ४० हजार १३९ मूल्य बराबरको चाँदी जस्तो देखिने गरगहना बरामद गरेको छ । सोमबार सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ च ३२१३ नम्बरको डबल क्याप बोलेरोमा अवैध सामानहरू बोकी ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा गाडी नियन्त्रणमा लिइ खोजतलास गर्दा उक्त गरगहना बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डीएसपी) भुवनेश्वर प्रसाद शाहले डबल क्याप बोलेरोमा चाँदी जस्तो देखिने बस्तुबाट बनेको विभिन्न गहनाहरू २१ किलो ७२५ ग्राम अन्दाजी रु. २४ लाख ७६ हजार ६५० रुपियाँ मूल्य बराबरको र पोते, पत्थरहरू, गहना राख्न प्रयोग हुने डिब्बाहरू लगायतका अन्दाजी रु एक लाख ६३ हजार ४८९ रुपियाँ मूल्य बराबरको अवैध सामानहरू बरामद गरिएको बताउनुभयो ।
उहाँले जिल्ला कैलाली जिल्ला साबिकको नारायणपुर गाविस ९ घर भई हाल जिल्ला दाङ तुल्सीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुङ्गाना र चालक र जिल्ला कैलाली टीकापुर नगरपालिका–९ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ एरिचोक बस्ने वर्ष २६ को दीपक पाण्डेलाई पक्राउ गरिएको डीएसपी शाहले जानकारी दिनुभयो । पक्राउ परेको सबैलाई थप कारबाहीका लागि राजस्व कार्यालय कोहलपुरमा पठाइएको बताउनुभयो ।