logo
२०८१ बैशाख १४ शुक्रवार



बैतडीमा चितुवा मृत फेला

खुला |
प्रदेश |


बैतडीमा चितुवा मृत फेला


गोकर्ण दयाल
बैतडी, फागुन ३ गते । चितुवा प्रभावित क्षेत्र बैतडीको पञ्चेश्वर गाउँपालिकामा पाँच फिट एक इन्च लामो चितुवा मृत अवस्थामा फेला परेको छ । पञ्चेश्वर गाउँपालिका –५, गिरेगाडामा मृत अवस्थामा चितुवा फेला परेको हो । चितुवालाई मङ्गलबार बैतडी सदरमुकाम ल्याएर खाल्डोमा गाडिएको छ ।

स्थानीयले मृत अवस्थामा फेला परेको चितुवाकाबारेमा प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले मृत चितुवा डिभिजन वन कार्यालय बैतडीलाई बुझाएर खाल्डोमा गाडिएको हो । चितुवाको खुट्टा र पछाडिको भाग केही जङ्गली जनावरले खाएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी श्यामसुन्दर माझीले बताउनुभयो ।

सूचना अधिकारी माझीले भन्नुभयो, “मृत चितुवाको पुच्छरदेखि टाउकोसम्म नापजाँच गर्दा पाँच फिट एक इन्च लामो छ । खुट्टादेखि तलको केही भागको मासु खाएकोले भाले हो कि पाथी छुट्उयाउन सकिने अवस्था छैन, चितुवालाई खाल्डोमा व्यवस्थापन गरेका छौं ।” जङ्गली जनावरको शिकार गर्ने चितुवा आफै कसरी शिकार भयो भन्ने कुरा पत्ता नलागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

बैतडीको तल्लोस्वराड क्षेत्रको पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा चितुवाले मान्छेको शिकार गर्दैआएको क्षेत्र हो । तल्लोस्वराडमा बिगत आठ वर्षको अवधिमा चितुवाले २५ जना बालबालिका खाइसकेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

मानव र चितुवावीचको द्वन्द्व घटाउन वन कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेपनि बैतडीमा पटक पटक चितुवा मृत फेला पर्नेगरेको वन कार्यालयको भनाई छ । चितुवा प्रभावित क्षेत्रमा बिजुली बत्ती नभएकाले वन कार्यालयबाट चितुवा पीडित परिवारलाई राहतस्वरुप १० लाख रुपियाँ र सोलार बत्ती बितरण हुँदैआएको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?