logo
२०८१ बैशाख २१ शुक्रवार



तमोर नदीमा अस्थायी मोटरेवल पुल निर्माण

खुला |
प्रदेश |
समाज |


तमोर नदीमा अस्थायी मोटरेवल पुल निर्माण


चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा काठको मोटरेवल पुल निर्माण गरेको छ । हिउँदयाममा गाउँसम्म यातायात सुविधा पु¥याउने उद्देश्यले गाउँपालिकाले तमोर नदीको विभिन्न ठाउँमा काठको अस्थायी मोटरेवल पुल निर्माण गरेको हो ।

जिल्लाकै विकट तथा दुर्गम हिमाली क्षेत्रमा पर्ने फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा छुट्टाछुट्टै तीन ठाउँमा अस्थायी मोटरेवल पुल निर्माण गरेको छ । तमोरको वारिपारि अर्थात् दुवैपट्टि फक्ताङ्लुङ गाउँपालिकाको क्षेत्र पर्छ । गाउँसम्म सडकको पहुँच पुगेपनि तमोर नदीमा पुल नहुँदा नागरिकले यातायात सुविधा उपभोग गर्नबाट बञ्चित हुनुपरेको थियो । सो अवस्थालाई दृष्टिगत गरी काठेपुल निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।

फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाकाअनुसार वडा २ खेजेनिम र वडा ३ लिङ्खिम जोड्नेगरी सिँवामा काठको अस्थायी मोटरेवल पुल निर्माण गरिएको छ । यस्तै, फक्ताङ्लुङ गाउँपालिका –४ इखाबु तथा वडा ५ तापेथोकको तल्लो छेउ जोड्नेगरी छिरुवा र तापेथोककै माथिल्लो वा अर्को छेउ र वडा ६ लेलेप जोड्नेगरी तापेथोक बगरमा काठेपुल निर्माण गरिएको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रत्येक पुल तीन लाख ५० हजारदेखि चार लाख रुपियाँसम्म रकम खर्च गरेर निर्माण गरिएका हुन् । फक्ताङ्लुङ गाउँपालिकाले विगत केही वर्षयता प्रत्येक हिउँद समयमा स्थानीय नागरिकलाई यातायात सुविधा पु¥याउनेगरी काठको मोटरेवल पुल निर्माण गर्दैआएको छ । हाल गाउँसम्म सडकको पहुँच विस्तार भइसकेको अवस्थामा हिउँदयाममा मात्र भएपनि स्थानीय जनतालाई यातायात सुविधा दिन काठको अस्थायी पुल निर्माण गर्दैआएको गाउँपालिका अध्यक्ष सरोज एभेङले बताउनुभयो ।

तमोर नदीमा पक्की मोटरेवल पुल नबनेसम्म काठको मोटरेवल पुल बनाउनुपर्ने अवस्था रहेको पनि अध्यक्ष एभेङको भनाई छ । सातवटा वडा रहेको पालिकामा हाल वडा ७ ओलाङ्चुङगोलाबाहेकका सबै वडाका गाउँसम्म सडकको पहुँच पुगेको छ । अस्थायी पुल बनेपछि स्थानीयलाई राहत भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?