logo
२०८१ जेष्ठ ३ बिहीवार



सडक विस्तार हुँदा घाँसी कुवा मासिने खतरा

खुला |
प्रदेश |
समाज |


सडक विस्तार हुँदा घाँसी कुवा मासिने खतरा


अमरराज नहर्की
तनहुँ, फागुन ३ गते । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसी कुवाको अस्तित्व जोखिममा परेकोछ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार हुने क्रममा रहेकाले कुवा भएको पार्कको अस्तित्व मासिने अवस्थामा पुगेको स्थानीयको भनाई छ ।

सडक विस्तारको क्रममा रुखहरु काट्ने काम शुरु भइसकेकाले कुवाको अतित्व मासिने भनेर स्थानीय वासिन्दा चितिन्त बनेका छन् । सडक विस्तार गर्दा हाल घाँसी कुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनु पर्ने सरोकारवालाको भनाई छ । व्यास नगरपालिका १२ का वडा अध्यक्ष तोत्र कुँवर घाँसी कुवा र पार्क जसरी पनि बचाउनु पर्ने बताउनुभयो ।

‘पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरित रहेको स्थानलाई मात्रै फराकिलो बनाउनु पर्ने उहाँको सुझाव छ । बुल्दी खोला किनारको भागलाई उठाएर सम्मबनाएमा कुवाको संरक्षण हुने उहाँले बताउनुभयो ।

भानुभक्त मामाघर मानहुँ पुगेर पैदल बाटो फकिर्ने क्रममा घाँसी कुवामा नै घाँसीसँग भेट भएको भनाई छ । घाँसी कुवा व्यास नगरपालिका–१२ मा पर्छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा घाँसी कुवा अवस्थित छ । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि त्यसबाट भानुले प्रेरणा लिनुभएको थियो ।

घाँस काटेरै कुवा बनाउने प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गर्नुभएको लिखत पाइन्छ । कुवाको पारीपट्टी पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्रामणको बस्ती रहेको र कुवा नजिकको बस्ती भएकाले पन्थ नै घाँसी भएको भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराईले बताउनुभयो ।

गाडीको चाप बढेको पृथ्वीराजमार्ग विस्तार गर्नुपर्ने भए पनि घाँसी कुवाको संरक्षण गरेर विस्तार गर्नुपर्ने व्यास नगरपालिका –११, पोल्याङ, घाँसीकुवा निवासी भोजराज पन्थले बताउनुभयो । ‘‘जिजुबाजेदेखि जोगाउँदैआएको स्थान भएकाले भत्काएर इतिहास मेट्न हुँदैन’’ उहाँले सुझाउनुभयो ।

समितिका सदस्य प्रेम पन्थ बच्चुले हाल घाँसी कुवा रहेकोभन्दा २०० मिटर पर उत्तरतिर करिव १०० रोपनी सार्वजानिक जग्गामा स्थानीय वासिन्दाले भानु–घाँसी पार्क बनाउन दिने निर्णय समेत गरिसकेको बताउनुभयो ।
कुवा नरहेमा भानुभक्तको पहिचानमा असर पर्ने स्थानीयको बुझाई छ । भानु नगरपालिका–२ अम्बोटका यदुनाथ न्यौपानेले भानुलाई प्रेरणा दिएको घाँसीको नाममा बनेको कुवाको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

चाईना कम्पनीले पृथ्वीराजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने काम गरिरहेको छ । चार लेनको सडक निर्माणका लागि रुख काट्ने काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो गर्ने कार्यक्रम रहेको बताइएको छ । सो कम्पनीले सडक फराकिलो गर्न ६ अर्ब १४ करोड रुपियाँमा ठेक्का लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?