logo
२०८१ बैशाख १२ बुधवार



बालमैत्री गाउँपालिका घोषणा हुँदै कालिञ्चोक

खुला |
प्रदेश |


बालमैत्री गाउँपालिका घोषणा हुँदै कालिञ्चोक


बाबुराम शर्मा
दोलखा, फागुन ४ गते । कालिञ्चोक गाउँपालिकाले बालबालिकाको अधिकारलाई मध्यनजर गरी पालिकालाई बालमैत्री बनाई घोषणा गर्ने तयारी गरेको छ । गाउँपालिकालाई बालमैत्री घोषणा गर्नेगरी तयारी तीब्र पारिएको पालिकाका उपाध्यक्ष कालिका पाठकले बताउनुभयो ।

उहाँकाअनुसार बालमैत्री घोषणाका लागि पालिकाले २०७६ सालदेखि नै सूचकहरु पूरा गर्नेगरी अभियान सञ्चालन गरेको थियो । अभियान सञ्चालन भएको दुई वर्षमा सबै सुचक पूरा हुने अन्तिम चरणमा रहेका उहाँको भनाई छ । सूचकहरु पूरा हुनेवित्तिकै औपचारिक रुपमा बालमैत्री गाउँपालिका घोषणा गरिने उहाँले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण बालमैत्री अभियानमा चुनौती खडा भएको तर चुनौती बाबजुद अभियानलाई निरन्तरता दिन सकिएकाले चाँडै घोषणा गर्न सकिने उहाँको भनाई छ । उहाँले भन्नुभयो, “कोरोना प्रभावले पटक पटक घोषणा मिति सार्नुपरेको थियो । अब घोषणा गर्नेगरी नै अभियानलाई तीब्र पारिएको उहाँको भनाई छ । फागुन अन्तिम साता वा चैतको पहिलो हप्ता गाउँपालिकालाई बालमैत्री घोषणा गरिने उपाध्यक्ष पाठकको भनाई छ ।

बालमैत्री स्थानीय तह बनाउने अभियान अन्तर्गत बालबालिकासम्बन्धी तथ्याङ्क संङकलन, सबै वडा र विद्यालयमा बाल क्लब गठन तथा परिचालन गरिएको छ । समुदाय परिचालन गरी बालश्रम र बालविवाहलाई अन्त्य गर्न अभियान चलाइएको छ । सबै सूचकहरु पूरा गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीकाअनुसार बालमैत्री अभियान सञ्चालन गरेको दुई वर्षपछि सूचकहरु पूरा हुने चरणमा रहेको छ । ३९ वटा सूचक, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता सहितका सबै क्षेत्र तथा पक्षमा काम गरी पालिकालाई बालमैत्री घोषणा गर्न लागिएको उहाँले बताउनुभयो । पालिकाले २०७७ सालदेखि बालमैत्री घोषणा गर्ने लक्ष्यकासाथ बजेट विनियोजन गर्दैआएको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?