logo
२०८१ बैशाख १४ शुक्रवार



बर्डफ्लू आउन नदिन काभ्रेमा उच्च सतर्कता

खुला |
प्रदेश |


बर्डफ्लू आउन नदिन काभ्रेमा उच्च सतर्कता


मधुसुधन तिमल्सिना
काभ्रे, फागुन ४ गते । कुखुरा उत्पादनमा मुलुककै दोस्रो जिल्ला काभ्रेपलाञ्चोकमा बर्डफ्लू भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ । उपत्यकासहित केही जिल्लामा बर्डफ्लू देखिएपछि काभ्रेले मुख्य नाकामा पन्छीहरुको चेकजाँचलाई कडाइ गरेको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेका प्रमुख डा. मोगलप्रसाद शाहले उत्पयका प्रवेशनाका साँगा र पूर्वी जिल्ला प्रवेश गर्ने मुख्यनाका बीपी राजमार्गको मंगलटारमा पन्छीहरुको चेक प्वाइन्ट राखिएको जानकारी दिनुभयो । बनेपा नगरपालिकाले बुधबार पन्छीहरुमा लाग्ने सङक्रमण रोगका बिषयमा सरोकारवालासँग गरेको कार्यक्रममा उहाँले मंगलटारमा दुई जना कर्मचारी चेकजाँचका लागि राखेर काम सुरु भएको बताउनुभयो ।

माघ १६ गते मोरङका दुई स्थानमा देखिएको बर्डफ्लू चितवन र काठमाडौं जिल्लामा समेत देखिएको छ । मानिसमा सङक्रमण हुनसक्ने लक्षणसहितको बर्डफ्लू देखिएकाले उच्च सवाधानी अपनाउन डा. शाहले अनुरोध गर्नुभयो । पन्छीहरु पालिएको खोर सँधै सफा राख्ने र समय–समयमा निसंक्रमण गर्न, खोर सफागर्दा मास्क, बुट र पञ्जा लगाउन उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।

बनेपा नगरपालिकालका प्रमुख लक्ष्मीनरसिं बादेले बनेपा प्रवेश गर्ने साँगामात्र चेकजाँच गर्दा अन्यत्रबाट समेत पन्छी ओसारपसार हुने भन्दै नाला, आशापुरी लगायतका क्षेत्रमा पनि चेकजाँच गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले स्रोत, साधन र जनशक्तीबिनाको चेकप्वाइन्टले नतिजा दिन नसक्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?