logo
२०८१ बैशाख २१ शुक्रवार



पाथीभरामा केबुलकार निर्माणको तयारी

खुला |
प्रदेश |


पाथीभरामा केबुलकार निर्माणको तयारी


चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन ६ गते । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको तयारी गरिएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा पाथीभरादेवी दर्शन केबुलकार प्रालि.मार्फत केबुलकार निर्माणको तयारी गरिएको हो । सदरमुकाम फुङ्लिङमा शुक्रबार प्रवद्र्धक कम्पनी पाथीभरादेवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तरक्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । जिल्लाको पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले पाथीभरामा केबुलकार निर्माण गर्न लागिएको हो । काफ्लेपाटीदेखि पाथीभराधाम जोड्ने गरी केबुलकार निर्माण गरिने प्रालि.का पदाधिकारीको भनाइ छ ।

पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि धाम जोड्ने केबुलकारको दूरी २.६ किलोमिटर हुने प्रालिले जनाएको छ । करिब तीन अर्ब रुपियाँ खर्च हुने र २२ महिनाभित्र केबुलकार आयोजना सम्पन्न गर्नेगरी विस्तृत अध्ययन प्रतिवेन (डीपीआर) बनेको पनि केबुलकार प्रालिका स्थानीय सम्पर्क व्यक्ति मणिशङ्कर पोमूले जानकारी दिनुभयो ।

आगामि बैशाखदेखि केबुलकार निर्माणको काम सुरु गर्नेगरी तयारीलाई अघि बढाएको प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले जानकारी दिनुभयो । केबुलकार प्रालिको योजनाअनुसार निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको पनि पौडेलले बताउनुभयो । उहाँले प्रचलित व्यवस्था साथै सबै पक्षलाई सम्बोधन र समन्वय गरेरै परियोजनाको काम कार्यान्वयन गरिने बताउनुभयो ।

अन्तर्क्रियामा प्रालिका परामर्शदाता बच्चुनारायण श्रेष्ठले केबुलकार परियोजनाको उपलब्धी, प्रभाव र चुनौतीबारे अवगत गराउनुभएको थियो । श्रेष्ठले केबुलकारको निर्माण संरचना, कार्यान्वयनको प्रकृति, परियोजनाले हुने सामाजिक र आर्थिकसहित समष्टिगत उपलब्धीबारे जानकारी गराउँदै परियोजनाले पर्यटन विकाससँगै ताप्लेजुङवासीलाई धेरै फाइदा पुग्ने बताउनुभयो ।

यता, अन्तर्क्रिया अधिकांश सहभागीले केबुलकार निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तारानाथ घिमिरेले जिल्लाको पर्यटन विकाससँगै आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने भएकाले चाँडै केबुलकारको काम थाल्नुपर्ने बताउनुभयो । प्रदेश सांसद बलबहादुर साम्सोहाङले केबुलकारजस्ता ठूला परियोजनाले विकासमा फड्को मार्ने विषयसँगै स्थानीयलाई लाभ मिल्ने बताउनुभयो ।

साम्सोहाङले नीतिगत व्यवस्थालाई प्राथमिकता दिँदै परियोजना कार्यान्वयनमा ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।

जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले पनि स्थानीय सरोकारवालाको सुझावलाई आत्मसात् गर्दै प्रभावित क्षेत्रको हितलाई प्राथमिकता दिएर परियोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । स्थानीय समुदायको माग, संस्कार संस्कृति र सभ्यतासहित सामाजिक परिवेश समेतलाई दृष्टिगत गरी प्रभावित क्षेत्रका समुदाय साथै जिल्लावासीका लागि परियोजनाबाट पुग्ने उपलब्धीलाई सुनिश्चित गरी काम अघि बढाउनुपर्ने जोड दिनुभयो ।

केबुलकार परियोजना कार्यान्वयन गर्दा प्रवद्र्धक कम्पनीले जिल्लाको पर्यटन विकासका लागि अन्य पूर्वाधारसहितका योजनालाई पनि अघि सार्नुपर्ने धारणा राख्नुभयो । पाथीभरा क्षेत्रमा केबुलकार निर्माण परियोजना अघि बढाइने भएपछि केही समुदायले भने सुरुदेखि नै विरोध गर्दैआएका छन् । स्थानीय लिम्बू समुदायको सांस्कृतिक अस्तित्वसँग पाथीभरा (मुक्कुमलुङ) जोडिएकाले सांस्कृतिक अतिक्रमण हुने भन्र्दै विरोध हुँदैआएको छ । समुदायगत पहिचान र संस्कृतिलाई असर नपु¥याई परियोजना कार्यान्वयन गर्नुपर्ने माग हुँदैआएको छ ।

केही सांस्कृतिक मान्यतामा थोरै प्रभाव पर्ने भए पनि समग्रमा जिल्लाको पर्यटन विकास, आम्दानी वृद्धिसँगै प्रत्यक्ष रुपमा फाइदा पुग्ने भएकाले केबुलकार परियोजना कार्यान्वयनमा सहयोग गर्न प्रालिका प्रमुख कार्यकारी अधिकृत स्वदेश गुरुङले सरोकारवाला सबैसँग अनुरोध गर्नुभयो । हाल पाथीभरामा वार्षिक तीनदेखि पाँच लाखसम्म धार्मिक पर्यटक आउनेगरेका छन् । केबुलकार निर्माण भएमा दोब्बर पर्यटकको वृद्धि हुने उहाँहरुको आँकलन छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?