logo
२०८० चैत्र १५ बिहीवार



तटबन्ध निर्माणमा ठेकेदारको लापरवाही भएको स्थानीयको गुनासो

खुला |
प्रदेश |


तटबन्ध निर्माणमा ठेकेदारको लापरवाही भएको स्थानीयको गुनासो


लोकेन्द्र जोशी
दार्चुला, फागुन ६ गते । दार्चुलाको श्रीबगड–तपोवन तटबन्ध निर्माणमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेको, गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको र यहाँबाट उत्खनन गरिएका गिटी, बालुवा अन्यत्र बिक्री गर्नेगरेको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन् ।

निर्माण सामग्रीको तस्करी भइरहेको र कमसल सामग्रीको प्रयोग भएको विषयमा निष्पक्ष परीक्षण गरेर आवश्यक कारवाही गरिदिन स्थानीयले प्रशासन समक्ष निवेदन दिएका हुन् । जिल्ला तटबन्ध कार्यालयले आर्थिक वर्ष २०७६–७७ देखि महाकाली नदीमा तटबन्ध बनाउन राजेन्द्र निर्माण सेवालाई ठेक्का दिएको थियो ।

ठेकेदारले राजनीतिक शक्तिको आडमा काममा ढिलासुस्ती गरिरहेको स्थानीयको आरोप छ । महाकाली पारी भारततर्फ तटबन्ध बनेको छ तर नेपालतर्फ तटबन्ध निर्माणको काम कछुवा गतिमा भएको स्थानीय देबबहादुर बमले बताउनुभयो ।

काममा ढिलासुस्तीका साथै गुणस्तरहीन सामग्रीको प्रयोग भइरहेको छ । स्थानीयले यो कार्यको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताएका छन् । बोधार्थ महाकाली तटबन्ध कार्यालय, महाकाली नगरपालिका र दुहुँ गाउँपालिकालाई दिएको अर्का स्थानीय सुरेन्द्रबहादुर बमले बताउनुभयो । स्थानीयले तटबन्ध निर्माणस्थलको स्थलगत निरीक्षण गरी दोषीमाथि कारवाही गर्न निवेदनमार्फत माग गरेका छन् ।

अहिलेसम्म जम्मा १० प्रतिशत मात्र काम भएको स्थानीय लोकेन्द्रबहादुर बमले भन्नुभयो, “गतवर्षको बर्खामा नदीले सय रोपनी खेत बगाएको थियो । यही गतिले काम हुने हो भने बाढीले आउँदो बर्खामा झन बढी ताण्डप मच्चाउने निश्चित छ ।” स्थानीयले तटबन्ध कार्यालयका प्राबिधिकहरु पनि ठेकेदारको प्रभावमा परेको, पबित्र धार्मिक तीर्थस्थल तपोवनमा रहेको तातोपानीको मूल नासिने गरी काम हुँदा पनि सम्बन्धित निकाय मौन बसेको आरोप लगाएका छन् ।

स्थानीयहरुले सामूहिक हस्ताक्षर गरेर लिखित निवेदन दिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले शीघ्र र गुणस्तरीय तटबन्ध निर्माण गर्न सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गर्न महाकाली नदी नियन्त्रण आयोजनालाई निर्देशन दिनुभएको छ । ठेकेदारले राजनीतिक आडमा काममा ढिलासुस्ती गरिरहेको र समयमै तटबन्ध नबनेका कारण हरेक बर्खामा आफुहरुको घरखेत बाढीको चपेटामा पर्नेगरेको स्थानीयको गुनासो छ ।

२०७० सालको बाढीपछि महाकाली किनारमा निर्माण भइरहेको तटबन्धको काम अझै सकिएको छैन । नदी तटीय क्षेत्रमा तटबन्ध निर्माण सम्पन्न नभएकै कारण बाढी, पहिरोले हरेक वर्ष क्षति गरिरहेको स्थानीयको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?