logo
२०८१ जेष्ठ ४ शुक्रवार



स्वच्छ र निष्पक्ष निर्वाचन गराउन आग्रह

खुला |
प्रदेश |


स्वच्छ र निष्पक्ष निर्वाचन गराउन आग्रह


बेलिना थापा
लमजुङ, फागुन ७ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन लमजुङका सरोकारवालाले आग्रह गर्नुभएको छ ।

निर्वाचनमा नागरिकले स्वतन्त्र रुपमा मतदान गर्ने अधिकार रहेको चर्चा गर्दै बाधा अड्चन नआउनेगरी निर्वाचन गराउनतर्फ लाग्ने उहाँहरुको प्रतिबद्धता छ । छैटौं निर्वाचन दिवस २०७८ को अवसरमा जिल्ला प्रशासन कार्यालय लमजुङमा आयोजना गरिएको निर्वाचन सञ्चालन तथा व्यवस्थापन विषयक सरोकारवालाहसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले सो प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले निर्वाचन धाँधलीरहित ढङ्गबाट सम्पन्न गराउनुपर्ने, निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको पाइएकाले रोक्न आफ्नो तर्फबाट लाग्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । चुनावको नाममा धेरै खर्च भइरहेकाले न्यूनीकरण गर्नुपर्ने उहाँको सुझाव छ ।

नेकपा (एमाले) लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचनका कारण राजनीतिक दलबीच भेटघाट, सम्पर्कको वातावरण मिल्नेगरेको बताउनुभयो । निर्वाचनमा धेरै खर्च नगरी खर्च नियन्त्रणसहित स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न गराउनुपर्ने बताउनुभयो । जनतालाई दुःख नदिई खर्च व्यवस्थापन हुनेगरी सहज रुपमा चुनाव गर्नुपर्ने उहाँको सुझाव छ ।

नेपाली काँग्रेस लमजुङका उपभापति आनन्द घिमिरेले निर्वाचनमा कुनै पनि नागरिक मतदानबाट वञ्चित हुन नपर्ने गरी व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । राजनीतिक दल, सरोकारवाला सबै त्यसमा जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । निर्वाचन आयोगले पनि नागरिकको मतदान गर्ने अधिकारलाई ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो । कतिपय मतदाताको नाम अशुद्ध ,  मृत्यु भएको व्यक्तिको नामबाट पनि मतदान हुने विगतमा देखिएकाले त्यसलाई रोक्न निर्वाचन आयोगले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

नेकपा (माओबादी केन्द्र) लमजुङका जिल्ला कमिटी सदस्य देवबहादुर गहतराजले बसाइँसराइका कारण दोहोरो नाम रहने समस्या, एउटाको नामबाट अर्काेले मतदान गर्नेजस्ता काम रोक्नुपर्ने बताउनुभयो । निर्वाचन सफल बनाउन सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सदस्य रामबहादुर थापाले चुनाव जित्नका लागि भोट हाल्ने नभई असल उमेदवारको छनोट नागरिकले गर्न पाउनुपर्ने बताउनुभयो । जनता समाजवादी पार्टी लमजुङका अध्यक्ष गमबहादुर तामाङले निर्वाचनमा क्षमतावान, दक्ष व्यक्तिलाई उमेदवार बनाउनुपर्ने बताउनुभयो । भोजभतेर, रकम बाँड्दैमा निर्वाचन सफल नहुने उहाँको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङका जिल्ला अध्यक्ष हरिप्रसाद रेग्मीले नागरिकले आफुले पाउने अधिकार प्रयोय गरी स्वस्छ रुपमा निर्वाचन हुनुपर्ने बताउनुभयो । मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभाका अध्यक्ष विकास गुरुङले आगामी स्थानीय तहको निर्वाचन शान्त र निष्पक्ष रुपमा हुनुपर्ने बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रले निर्वाचन सञ्चालन तथा व्यवस्थानको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले निर्वाचनको सुरुवात, निर्वाचन आचारसंहिता, उमेद्वारको मापदण्ड बारेमा जानकारी गराउनुभयो ।

लमजुङका निमित्त प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले निर्वाचन सम्पन्न गराउन सबैको भूमिका आवश्यक पर्ने बताउनुभयो । आचारसंहिता बाहिरको काम भएमा दावी विरोध गर्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्की, श्रीजंग गण उदीपुरका गणपति जयराम थापा, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक नवराज थापा, राष्ट्रिय अनुसन्धान अधिकृत कुमार बुढाथोकी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?