प्रा.डा. जीवेन्द्रदेव गिरी
आधुनिक नेपाली भाषा वर्तमान संसारमा बोलिने भाषाहरूमध्ये एक महत्वपूर्ण भाषा हो । यो अहिले नेपालमा मात्र नभई नेपालबाहिरका भारतलगायत विभिन्न मुलुकमा बोलिन्छ । यो नेपालको प्रमुख राष्ट्रभाषा हो र यसमै सरकारी कामकाज गरिँदै आएको छ । शिक्षा, सञ्चार, प्रशासन, कानुन, व्यापार, ज्ञानविज्ञान आदि विभिन्न क्षेत्रमा यसको प्रयोग हुँदै आएको छ । भाषाले गर्ने सबै प्रकारका काम यसबाट हुँदै आएका छन् । यो भाषा आजको स्थितिसम्म आइपुग्न यसले करिब एक हजार वर्षको यात्रा गरेको छ । यस यात्राको प्रारम्भ कर्णालीको भूमिबाट भएको हो । त्यसैले नेपाली भाषाको जन्मथलोका रूपमा कर्णालीले गर्व गर्दै आएको छ र गर्व गर्ने हक पनि राख्दछ । कर्णालीकै सिँजा क्षेत्र यसको जन्मथलो मानिएको छ । सिँजालाई केन्द्र बनाउँदै यसले विस्तारै आफ्नो प्रभाव विस्तार ग¥यो र वर्तमान अवस्थामा आइपुगेको हो ।
भारोपेली परिवारको आर्य इरानेली शाखाको आर्येली भेद अर्थात् संस्कृत भाषाबाट नेपाली भाषाको विकास भएको हो । यसलाई आर्येलीको उदीच्य भेदको पहाडी वर्गको पूर्वी सदस्य मानिएको छ । आर्येली नै संस्कृत हो । त्यसैले अर्को किसिमले भन्दा संस्कृतबाट उत्पन्न खस प्राकृतपछिको खस अपभ्रंंशबाट यसको जन्म भएको मानिन्छ । संसारका अन्य आर्य भाषाहरूझैँ ईस्वीको एघारौँ शताब्दीतिर यो अस्तित्वमा आएको पाइन्छ । कर्णाली प्रदेशमा प्राप्त अभिलेखहरूले यसलाई प्रमाणित गरेका छन् ।
योगी नरहरिनाथ, बालकृष्ण पोखरेल, पूर्णप्रकाश नेपाल ‘यात्री’, मोहनप्रसाद खनाल, सूर्यमणि अधिकारी, रत्नाकर देवकोटा आदिका शोधखोजबाट कर्णाली प्रदेशका महìवपूर्ण प्राचीन अभिलेखहरूका साथै विविध सामग्री प्राप्त भएका छन् । बाबुराम आचार्य, नयराज पन्त, रामनिवास पाण्डे, राजाराम सुवेदीजस्ता इतिहासकारका कलमले कर्णाली प्रदेशको इतिहास खोतल्दा पनि त्यहाँका कैयन् तथ्य प्रकाशमा आएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सिँजा क्षेत्रमा गराइएको कर्णाली लोकसंस्कृतिको अध्ययनमा संलग्न रहेर सत्यमोहन जोशी, चूडामणि बन्धु, प्रदीप रिमाल, बिहारीकृष्ण श्रेष्ठ र स्थिरजङ्गबहादुर सिंहले गर्नुभएको खोजपूर्ण कार्यले त्यहाँको इतिहास, भाषा, साहित्य, सङ्गीत, कला, जनजीवन र भूगोलका विभिन्न पक्षहरूसम्बन्धी जानकारी सार्वजनिक गरिएका छन् । यी विशिष्ट विद्वान्का अध्ययन र विश्लेषणमा कर्णाली प्रदेशको सिँजा साम्राज्यका साथै त्यसपछिका विभिन्न बाइसे राज्यका गतिविधिहरू वर्णित छन् । तिनले के पुष्टि गरेका छन् भने नेपाली भाषाको जरो खोज्दै जाँदा सिँजामा नै पुगिन्छ ।
प्राप्त अभिलेखमध्ये पूर्णप्रकाश नेपाल ‘यात्री’ले वि.संं. १०३८ (शाके ९०३) मानिएको भूपाल दामुपालको समयको दुल्लूमा प्राप्त शिलालेखलाई नेपाली भाषाको पहिलो अभिलेख मानेका छन् । उनले पढेअनुसार त्यसमा भनिएको छ ः “ओं..........(मणि पद्मे हुँ । ... ...दामुपाल भूपाल रेख भई । किष्णु अडैको भाइ सउंपाल अडै सा(के) ९०३ ।” बालकृष्ण पोखरेलले आफ्नो ‘पाँच सय वर्ष’ नामक पुस्तकमा यसबारे टिप्पणी गर्दै के लेखेका छन् भने यहाँ दिइएको मिति सही हो भनी ठोकुवा गर्न नसके पनि अभिलेखको लिपि निकै पुरानो भएको हुँदा त्यसलाई १०३८ भन्दा पछिको मान्न उनी तयार छैनन् ।
मोहनप्रसाद खनालको ‘नेपाली भाषाका हजार वर्ष’ (२०६८) नामक पुस्तकमा भने ‘यात्री’को उक्त अभिलेख रहेको छैन । उनले यस पुस्तकमा शाके १०१६ तदनुसार वि.सं. ११५१ को वामुखड्काको दुल्लूस्थित भुसागाउँको कोटनजिकै खिराखेत नामक स्थानमा रहेको देवलाकार पाषाण स्तम्भको लेखलाई पहिलो अभिलेखका रूपमा प्रस्तुत गरेका छन् । त्यसमा भनिएको छ : “स्वस्ति । श्री साके १०१६ पिछ्यक वामु षड्गहाको कीर्ति षंभ ।। शुभ ।।”
उक्त अभिलेख र विद्वान्का भनाइबाट नेपाली भाषाको जन्म कर्णालीको सिँजा राज्यमा भएको र त्यहाँबाट नै यसको विस्तार भएको स्पष्ट हुन्छ । यसबाट मैथिली, भोजपुरी, अवधी, बङ्गाली, आसामी, सिन्धी, पन्जाबी, गुजराती, राजस्थानी, मराठी आदि आर्यभाषासँगै नेपाली भाषाको जन्म भएको र यसलाई जन्माउने श्रेय कर्णालीको भूमिले प्राप्त गरेको यथार्थ छर्लङ्गिन्छ । नेपाली भाषामा लेखिएका अभिलेखहरू यतिमै सीमित छैनन् । विभिन्न खस राजा अशोक मल्ल, अक्षय मल्ल, आदित्य मल्ल, पुण्य मल्ल, पृथ्वी मल्ल, अभय मल्ल आदिका समयका र त्यसपछिका पनि अनेक अभिलेख उपलब्ध छन् । ती ताम्रपत्र, शिलालेख, कनकपत्र आदिमा कपिएका वा लेखिएका छन् ।
खस शासन कालका मात्र करिब २०० अभिलेख फेला परेको कुरा उल्लेख गर्दै मोहनप्रसाद खनालले तिनमा राजाका आदेश, वंशावली, दान–दातव्यजस्ता विषय रहेको जानकारी दिएका छन् । यीमध्ये अधिकांश कर्णाली क्षेत्रमै उपलब्ध भएको कुरा पनि उनले उल्लेख गरेका छन् । खस राजाहरू प्रभावशाली रहेका कारण सिँजा साम्राज्यको खसान प्रान्तमा मात्र नभई जडान प्रान्तका अभिलेखमा समेत नेपाली भाषा लेखिन पुग्यो । उनीहरूको प्रभाव काठमाडौँ उपत्यकासम्म विस्तारित भयो र यहाँ पनि नेपाली भाषाका अभिलेखहरू फेला परे । कतिपय अभिलेख त भारतमा समेत फेला परेका छन् । स्मरणीय छ, त्यतिखेर कुमाउँ र गढवालमा समेत खसहरूले शासन गरेका थिए ।
विक्रमको सोह्रौँ शताब्दीको अन्त्यतिर खस साम्राज्यको पतनपछि कर्णाली प्रदेशमा बाइसे र गण्डकी प्रदेशमा चौबीसे राज्यको उदय भयो । तिनमा नेपाली भाषाका थरीथरी भेदको जन्म भयो । भौगोलिक विकटता र अलग–अलग राज्यका बीच परस्पर सम्पर्कको कमी हुने स्थितिमा भाषाका अनेक भेद देखिनु स्वाभाविक हुनजान्छ । त्यतिखेर नेपाली भाषामा लेखिएका विभिन्न प्राचीन ग्रन्थहरू पनि उपलब्ध छन् । तिनमा नेपाली भाषाका विभिन्न नमुना रहेका छन् ।
नेपाले एकीकरणका अभियानले पुनः टुक्रिएका राज्यहरू गाँसिएपछि नेपाली भाषाका वक्ताबीचको सम्पर्क बढ्दै गयो । नेपाली भाषामा लेख्य सामग्रीको विकास हुन थाल्यो । नेपाली भाषाले छापाखाना र प्रकाशनको युगमा प्रवेश ग-यो । ‘गोरखापत्र’लगायतका विभिन्न पत्रपत्रिका स्वदेश र विदेशबाट प्रकाशित भए । अहिले नेपाली भाषामा शब्दकोश, व्याकरण तथा साहित्यका विभिन्न विधासँग सम्बन्धित कविता, गीत, कथा, उपन्यास, निबन्ध, संस्मरण, प्रबन्ध, नाटक र समालोचनाका साथै वाङ्मयका विभिन्न विषयका भाषा, संस्कृति, इतिहास, भूगोल, अर्थशास्त्र, वाणिज्यशास्त्र, राजनीतिशास्त्र, समाजशस्त्र, मानवशास्त्र, विज्ञान, प्रविधि, कानुन, प्रशासन, सञ्चार, कृषि, वन, चिकित्साशास्त्र, इञ्जिनियरिङ आदिसँग सम्बन्धित अनेक पुस्तक एवं पत्रपत्रिका प्रकाशित छन् । नेपाली भाषाको मानकीकरण र आधुनिकीकरणका कामका साथै लेखनमा एकरूपताका काम भएका छन् । नेपाली भाषाको विकासले यस अवस्थामा हामीलाई पु-याउनु सन्तोष र खुसीको कुरा हो । यससँगै यसको जन्मथलो र त्यसले जोगाएर राखेका कैयन् भाषिक–सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान एवं संरक्षणतर्फ हाम्रो चिन्ता र चासो बढ्न भने आवश्यक छ ।
यता आएर कर्णालीको नेपालीलाई खस भाषाको सङ्ज्ञा दिइएको पाइन्छ र ‘गोरखापत्र’को पानामा अन्य राष्ट्रभाषाले झैँ त्यसले पनि स्थान पाएको छ । जुम्ली नेपालीका रूपमा पनि त्यो वि.सं. २०६८ को जनगणनामा सूचीकृत भएको छ । यसमा रत्नाकर देवकोटाको ‘जुम्लेली शब्द र उखानसङ्ग्रह (२०२७)’ प्रकाशित भएको छ । यसमै रामविक्रम सिजापतिले ‘जुम्ली भाषिकाको वर्णनात्मक अध्ययन (२०५०)’ शीर्षकमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि तहको अध्ययन पूरा गरेका छन् भने नेपाल प्रज्ञा–प्रतिष्ठानबाट उनकै ‘जुम्ली—नेपाली शब्दकोश (२०७३)’ प्रकाशित छ । राजेन्द्रकुमार आचार्यको ‘केन्द्रीय नेपाली शब्दकोश (२०६०)’ पनि यसैसँग सम्बन्धित छ । स्थानीय स्तरमा अहिले पनि यस भाषाको विकासका लागि विभिन्न विद्वान्बाट थप काम भइरहेको जानकारी पाइन्छ ।
भाषा आयोगले प्रदेशको सरकारी कामकाजको भाषाका अतिरिक्त प्रदेशभित्र बोलिने राष्ट्रभाषामध्ये प्रदेशको भूगोल, इतिहास र सांस्कृतिक मौलिक पहिचान बोकेको भाषाको सम्मान, संरक्षण र विकासका लागि प्रदेशको भाषिक सम्पदाका रूपमा प्रदेश कानुनबमोजिम कुनै भाषालाई विशिष्ट पहिचान दिन सकिने कुरा आफ्नो प्रतिवेदनका माध्यमबाट सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारको ध्यान यतातिर आकर्षित हुने नै छ । कर्णाली प्रदेश सरकारले गत वर्ष नै सिँजामा एक बृहत् भाषिक गोष्ठी आयोजना गर्ने कार्यक्रम बनाई बजेटसमेत छुट्याएको जानकारी प्राप्त भएको थियो तर त्यो कोरोना महामारीका कारण स्थगित हुन गयो । यसरी नै भाषा आयोगले पनि सिँजामै एक सङ्गोष्ठी आयोजना गर्ने उद्देश्यलाई सोही कारणले कार्यान्वयन गर्न सकेन । भविष्यमा ती कार्यक्रम कार्यान्वयन हुने अपेक्षा गर्न सकिन्छ ।
कर्णालीको भूमिमा सञ्चित कैयन् भाषिक महìवका सामग्रीहरू त्यहाँको लोकसाहित्य, देवल, मन्दिर, स्तम्भ र घर–घरमा रहेका धातुका पाता एवं कागज, भोजपत्र आदिका लेखोटमा विद्यमान छन् । त्यहाँको स्थानीय बोलीमा पनि ती व्यवहृत छन् । समयक्रममा कतिपय बहुमूल्य सामग्री हामीले गुमाइसक्यौँ र कति अहिले पनि विलय हुने अवस्थामा छन् । यहाँका मूल्यवान् भाषिक, सांस्कृतिक महìवका सामग्रीको महìवबोध नहुँदा कतिपय प्राकृतिक कारणले र कतिपय मानवीय कारणले नष्ट हुने अवस्थामा पुगेको देखिन्छ । केही वर्षअघि दैलेखको दुल्लूस्थित कीर्तिखम्ब र त्यसको महìवपूर्ण शिलालेखको दुरवस्था हामीले देखेका थियौँ । अहिले त्यसको स्थानीय तहबाट केही संरक्षण भएको छ तर विज्ञताको प्रयोग गरेर साँच्चिकै त्यसको संरक्षण गर्ने हो भने त विशेष प्रयत्न अपेक्षित छ ।
यस्तो अवस्था जताततै छ । यस स्थितिमा मूल्यवान् सांस्कृतिक सम्पदाको जगेर्ना गर्न अबेर गर्नु हुँदैन । यसमा स्थानीय सरकारदेखि सङ्घीय सरकारसम्मको तत्परता आवश्यक छ । वक्ताहरूको सक्रियताको पनि उत्तिकै खाँचो छ भने भाषिक क्षेत्रका विज्ञहरूको अभिरुचि र सहयोगका निम्ति पनि विशेष प्रयत्न अपेक्षित छ । नेपाली भाषाकाजन्मस्थलमा पुगेर गहिरो अध्ययन गर्न सकिएमा नेपाली शब्दकोशले कैयन् शब्द प्राप्त गर्नेछ । नेपाली भाषाका नियमहरू पहिल्याउन थप आधार फेला पर्नेछन् । यसक्रममा प्राप्त हुने सामग्रीबाट भाषाविज्ञानले नयाँ खुराक प्राप्त गर्नेछ । नेपालको इतिहास, संस्कृति र अन्य विविध विषयको अध्ययनका निम्ति पनि महìवपूर्ण सहयोग पुग्नसक्छ । आमाबाट पाएको ज्ञानगुनले जसरी हामीलाई सबल र ज्ञानी बनाउँछ, त्यसरी नै हामीले बोलिरहेको भाषाको जन्मस्थलबाट पाउने ज्ञानगुनले पनि हामीलाई सक्षम र सुदृढ बनाउने छ ।