logo
२०८० चैत्र १६ शुक्रवार



रुखमा चढेर फोन गर्ने समस्या हट्यो

खुला |
प्रदेश |
समाज |


रुखमा चढेर फोन गर्ने समस्या हट्यो
हिमाली गाउँपालिका वडा नं ४ को झुगलडाँडामा स्थापना रहेको नेपाल टेलिकमको थ्रीजी सहित जोको टावर । तस्बिर - शेरबहादुर सार्की



शेरबहादुर सार्की
बाजुरा , फागुन ८ गते । जिल्लाको पुर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका स्थानीयको रुखमा चढेर फोन गर्नुपर्ने समस्या हटेको छ । त्यहाँका स्थानीयको यतिबेला घरभित्रैबाट फोेन लाग्न थालेपछि उनीहरु अहिले निकै हर्षित भएका छन् । यो भन्दा पहिला यहाँका स्थानीय आफन्तलाई फोन गर्नुपरेमा गाउँकै अग्लो डाँडा तथा रुखमा चढेर फोन गर्दै आएका थिए ।

स्थानीय सरकारले गाउँमै राखेको नेपाल टेलिकमको टावर काम राम्रो गर्न थालेपछि त्यहाँका स्थानीयले पनि अहिले घरभित्रैबाट फोनसहित भिडियोकल गर्न पाउँदा उनीहरुको मुहारमा खुसी छाएको हो ।

हिमाली गाउँपालिकाको सहयोग र नेपाल टेलिकम शाखा बाजुराको प्राविधिक सहयोगमा शनिवारदेखि हिमाली गाउँपालिकाको कार्यालयमा नजिक झुगला डाँडामा थ्रीजीसहितको टेलिकमको टावर जडान भएको हो ।

टावर जडान भएदेखि त्यहाँका स्थानीयको घर भित्रबाट नै फोन लाग्न थालेपछि उनीहरु निकै हर्षित हुन थालेका हुन् । हिमाली गाउँपालिकाले त्यहाँका स्थानीयको फोन सेवालाई विचार गर्दै शनिवारबाट थ्रीजीसहितको टावर राखेपछि फोन त के अहिले त्यहाँका स्थानीयवासीले घरभित्रैबाट भिडियो कल समेत गर्न थालेका छन् ।

हिमाली गाउँपालिका वडा नं ४ स्थानीय नन्दे सुनारले भन्नुभयो, “यो भन्दा पहिला भारतमा गएका आफन्तलाई सन्चोबिसन्चो सोधपुछ गर्दा फोन गर्न अग्ला डाँडामा जानुपर्दथ्यो । अहिले त्यो समस्या हटेपछि घरभित्रबाट नै फोनमा कुरा गर्न थालेका छौं ।''

कार्यालयका अधिकांश काम प्रायः अनलाइनमै गर्नुपर्ने हुन्छ, ती काम गरौं भने यता टावर नै आउँदैनथ्यो, यतिबेला गाउँपालिकाले कार्यालय नजिक झुगला डाँडामा थ्रीजीसहितको टावर जडान गरेपछि अहिले कार्यालयका अधिकांश काम अनलाइनबाटै गर्न सहज भएको हिमाली गाउँपालिकाका इन्जिनियर मदनराज पाण्डेयले बताउनुभयो ।

पहिला वडा कार्यालयको बैठक गोष्ठी समारोह गर्नुपरेमा सदस्यहरुलाई पत्रचार गर्नुबाहेक अरु कुनै विकल्प हुँदैनथ्यो । अब त फोन गरेर पनि उनीहरुलाई बैठकमा बोलाउन सकिने हिमाली गाउँपालिका वडा नं ४ वडा अध्यक्ष रमेश विकले बताउनुभयो ।

उहाँले भन्नुयभो, “भौगोलिक हिसावले यहाँ एक गाउँबाट अर्को गाउँ जान निकै समय लाग्छ, टोल टोलमा केही कुरा जानकारी गर्नु परेमा पनि दुइ दिन अगावै खवर गर्नुपर्छ, जसका कारण पालिकामा इमरजेन्सी काम परेमा निकै गाह्रो हुन्थ्यो, अहिले टेलिकमको राम्रो सुविधा भएपछि केही काम गर्नुपरे फोनबाट नै सहभागी गर्न सहज भयो ।’’

जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका विच्या बाँधु, लगायतका केही ठाउँमा पहिलादेखि अहिले टेलिकम सेवाबाट वञ्चित हुँदै आएका छन् । अहिले त्यो गाउँमा स्थानीय सरकार आएपछि उनीहरुले बल्ल सेवा सुविधा पाउन थालेको स्थानीयको भनाइ छ ।

खाद्यान्न, नुन, औषधि खानेपानी सडकलगायतका सेवाबाट वञ्चित हुने गरेको ती दुर्गमका स्थानीयले यती बेला गाउँमै विभिन्न प्रकारका सेवा सुविधा पाउन थालेपछि बल्ल अहिले सिंहदरबार गाउँमै आएको महसुस गरेका छन् ।

जिल्लाको एक दमै दुर्गम बस्ती भनेर चिनिँदै आएको यो ठाउँका मानिसहरुलाई पहिलेदेखि अहिलेसम्म फोन सेवाले निकै दुःख दिँदै आएको थियो । गाउँपालिकाको कार्यालयमा विभिन्न काम गर्ने तथा सूचना सम्प्रेषण गर्नुपर्दा निकै असहज हुने गर्दथ्यो ।

अहिले गाउँपालिकाले यो सबै समस्याको समाधान हुने गरी नेपाल टेलिकम शाखा बाजुराको प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक सहयोगमा विभिन्न ठाउँमा फोन सेवा सुविधा हुने गरी नेपाल टेलिकमको टावर जडान गरेपछि काम गर्न निकै सहज भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “योभन्दा पहिला टेलिफोनको राम्रो सुविधा नहुँदा कार्यालयका अधिकांश काम प्रायः अनलाइनमार्फत गर्न निकै समस्या हुने गरेको थियो अहिले नेपाल टेलिकमको टावर स्थापना गरेपछि ती काम अनलाइनमार्फत गर्न निकै सहज भएको छ।''

भण्डारी भन्नुहुन्छ, “हिमाली गाउँपालिका विच्छ्या र क्यूडीमा अझै फोन लाग्ने गरेको छैन त्यस क्षेत्रका लागि पनि केही महिनाभित्रै अर्को टावर स्थापना गर्ने योजना छ ।’’
शिक्षा स्वास्थ्य खानेपानी सडक लगायतका भौतिक पूर्वाधारहरु यहाँका स्थानीयले माग गर्दै आएका थिए ।

उनीहरुको यो मागलाई मैले आफ्नो कार्यावधिभित्र पूरा गर्दै आएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?