logo
२०८१ बैशाख २२ शनिवार



मनाङमा भारी हिमपात, जनजीवन प्रभावित

खुला |
प्रदेश |


मनाङमा भारी हिमपात, जनजीवन प्रभावित


बेलिना थापा
लमजुङ, फागुन ८ गते । हिमाली जिल्ला मनाङमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । आइतबार बिहानैबाट निरन्तर हिमपात हँुँदा जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् ।

मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ गुरुङकाअनुसार हिमपातका कारण चिसो अत्यधिक बढेको छ । स्थानीयहरु घर बाहिर निस्कन, आउजाउ गर्न सकेका छैनन् । घरभित्रै स्थानीयहरु बस्न बाध्य भएको उहाँले बताउनुभयो । हिमपातले वस्ती, डाँडाँकाँडा सेताम्मे बनेका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यकाअनुसार मनाङमा तेस्रो पटक भारी हिमपात भएको छ । यसअघि मंसिर दोस्रो साता र पुस दोस्रो साता भारी हिमपात भएको थियो । त्यसपछिको ठूलो हिमपात आइतबार भएको उहाँले बताउनुभयो । चामे क्षेत्रमा एक फिट बढी हिउँ जमेको उहाँले बताउनुभयो ।

विहानैदेखि मनाङ ङिस्याङ गाउँपालिकाको खाङ्सार, टंकी, मनाङगाउँ, भ्राका, मुङ्जे, घ्यारु, ङावल, हुम्डे, पिसाङ र नार्पाभूमि गाउँपालिकाको नार, फू, क्याङ तथा च्याखु साथै सदरमुकाम चामेबजार क्षेत्रसहित कोतो, थानचोक, तिमाङ र नासों गाउँपालिकाको तिल्चे, नाँचे, ताचें, ओडारगाउँ, घेराङगाउँ, घेलाञ्चोक गाउँ, थोंचे, धारापानी र तालगाउँमा हिमपात जारी रहेको छ । सदरमुकाममा तापक्रम माइनस ७ डिग्री सेन्टीग्रेड रहेको मनाङ प्रशासनले जनाएको छ ।

हिमपात निरन्तर भएको र चिसो बढेकाले चिसोबाट बच्च र सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । यसअघिको हिमपातले अवरुद्ध भएको सडक फागुन ५ गतेबाट मात्र खुलेको थियो । सडकको हिउँ पन्छाएर खुलाए पनि पुनः हिउँ थुप्रिएको छ । लमजुङको पनि उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । माथिल्लो भेगहरु घनपोखरा, सिउरुङ, खाँचे, पिसिहललगायतको ठाउँमा धेरै हिमपात भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?