logo
२०८१ बैशाख १८ मंगलवार



बालासुन्दरीकाे मन्दिर निर्माणले गति लिएपछि स्थानीयहरु खुसी

खुला |
समाज |


बालासुन्दरीकाे मन्दिर निर्माणले गति लिएपछि स्थानीयहरु खुसी
भगवानपुर गाउँपालिकामा रहेको धार्मिक पर्यटकीयस्थल बालासुन्दरी भगवतीको मन्दिर निर्माण हुँदै , तस्बिर– जीबछ यादव



जीबछ यादव
लहान, फागुन ९ गते । भगवानपुर गाउँपालिका–१ भगवानपुरमा रहेको धार्मिक पर्यटकीय स्थल बालासुन्दरीको मन्दिर निर्माणले गति लिन थालेपछि स्थानीयहरु खुसी भएका छन् । मधेस प्रदेश सरकार र भगवानपुर गाउँपालिकाको संयुक्त लगानीमा मन्दिर निर्माण र मन्दिर परिसरभित्र पर्यटकीयहरुले बस्न सक्ने आकर्षक बगैंचा र धर्मशाला समेत निर्माण भइरहेको छ । तीन करोड ७० लाखको लागतमा मन्दिर निर्माण कार्य अघि बढिरहेको अवस्थामा मन्दिर परिसरसँग जोडिएको हुलाकी सडक निर्माण र एक किलोमिटर पूर्व रहेको सिरहा–सप्तरीको सीमाना रहेको बलान नदीमा पुल निर्माण भैसकेको छ ।

बालासुन्दरी भगवतीको महिमाको प्रचार प्रसार हुने भएकोले हामी स्थानीयहरु खुसी भएको बालासुन्दरी माविका शिक्षक सन्तोष झाले बताउनुभयो । उहाँको अनुसार लिच्छिवी कलामा स्थापित बाला सुन्दरी भगवतीको स्थापना भएको थियो । सलहेसको इष्ट देवी बालासुन्दरी भगवतीको प्रचारप्रसार हुन नसकेकोले ओझेलमा पर्दै आइरहेको थियो ।

मधेस प्रदेश सरकार र भवगानपुर गाउँपालिकाले यसको धार्मिक पक्ष र भगवतीप्रति देखिएको जनआस्थालाई ध्यानमा राखेर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न बजेट विनियोजन गरेको भगवानपुर गाउँपालिका अध्यक्ष बेचन यादवले बताउनुभयो ।

‘मन्दिर जीर्ण हुँदै गएपछि १८१९ मा भगवानपुरमा रहेको तत्कालिन थानेदार ललित बाहादुर बम देवीसँग प्रार्थना गरेर भाकल गरेपछि पुत्र प्राप्त भयो । पुत्र लाभ भएपछि थानेदार बमले बालासुन्दरी भगवतीको मन्दिर निर्माण गरिदिनुभएको थियो । २०४६ विभिन्न दलका सरकारहरुसँग पनि यस मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न माग गरे पनि पुरा हुन सकेको थिएन ।’ स्थानीय त्रैलोक्यनाथ झाले जानकारी गराउनुभयो ।

पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइ, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र मधेस प्रदेशका मन्त्रीहरु समेत भ्रमण गरेर यसको धार्मिक पक्षबारे जानकारी प्राप्त गरेर यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने विश्वास दिलाउनुभएको सिरहा क्याम्पसका प्राध्यापक मोद नारायण झाले बताउनुभयो ।

राणा प्रधानमन्त्री जुद्ध शमशेरले ९ फिट कागजमा लालमोहर लगाएर दिएको यस मन्दिरको विकासको लागि ७ बिगाह जमिन र मन्दिर परिसरमा १० कठा जमिन रहेको छ । दिनहुँ वली प्रदान र मनोकामना पुरा भएका भक्तजनहरुबाट अष्ठजाम (पूजा) भइरहने यस मन्दिरमा आएर देवीलाई पुकारेपछि रोग कष्टबाट मुक्ति र सन्तान लाभ हुने गरेकाले दशैँमा पूर्वमा सुनसरी, मोरङग दक्षिणमा, भारत विहारको मधुवनी दरभङ्गासम्मका भक्तजनहरुले भगवतीको दर्शन गर्न र वली दिन आउने गरेका छन् ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?