logo
२०८१ जेष्ठ ३ बिहीवार



शालिक हटाउन सत्ता गठबन्धन दलको संयुक्त ज्ञापन

खुला |
प्रदेश |


शालिक हटाउन सत्ता गठबन्धन दलको संयुक्त ज्ञापन


सिराज खान
नेपालगञ्ज, फागुन ९ गते । विगतमा भएको सहमति विपरीत नेपालगञ्जको त्रिभुवन चोकमा तत्कालीन राजा त्रिभुवनको शालिक स्थापना गरिएको भन्दै सत्ता गठबन्धनका चार दलले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाँके, नेकपा (एकीकृत समाजवादी) पार्टी बाँके, जनता समाजवादी पार्टी बाँके र राष्ट्रिय जनमोर्चा बाँकेले सोमवार प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई संयुक्त ज्ञापनपत्र बुझाउनुभएको हो । तत्काल नहटाइए आफूहरुले हटाउने चेतावनी पनि उहाँहरुले दिनुभएको छ ।

ज्ञापनपत्र बुझाउँदै नेकपा (माओवादी केन्द्र) का नेपालगञ्ज नगर समितिका अध्यक्ष रतन शाहीले जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र सङ्घीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका सहीदहरुको अपमान गरी प्रहरी प्रशासनकै उपस्थितिमा शालिक राखिएकोमा तत्काल हटाउन माग गर्नुभयो ।

विगतमा पनि शालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमसेर राणाको अध्यक्षतामा २०७७ साल कात्तिक ६ गते बसेको सर्वदलीय बैठकले सो स्थानमा नेपालको झण्डा र नक्सा राख्ने सहमति भए पनि सो विपरीत स्वयम् मेयर राणाकै अगुवाइमा शालिक स्थापना गरिएको उहाँहरुको आरोप छ ।

निर्वाचनको मुखमा सर्वदलीय सहमति विपरीत एकलौटी ढङ्गले जिल्लामा सामाजिक सदभाव बिगार्ने नियतका साथ शालिक स्थापना गरिएकोले विगतको सहमतिअनुसार नै हटाउनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले सो शालिक स्थापना गरिएको सम्बन्धमा प्रशासनको पनि ध्यानाकर्षण भएको बताउनुभयो । उपमहानगरपालिका र मेयर राणासँग कुन निर्णयबाट स्थापना गरिएको हो भनि सोधपुछ गरिएको बताउनुभयो । प्रशासनले आफ्नो तरिकाले समस्या समाधान निकाल्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

ज्ञापत्रपत्र बुझाउन माओवादी केन्द्रका रतन शाही, जनता समाजवादी पार्टीका राजेन्द्र विश्वकर्मा, एकीकृत समाजवादी नेपालगञ्जका सरोज तामाङ् र राष्ट्रिय जनमोर्चा नेपालका जगदीश ढकाललगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?