logo
२०८१ बैशाख १७ सोमवार



मासपुरवासीको मतदान केन्द्र स्थापनाको माग

खुला |
प्रदेश |


मासपुरवासीको मतदान केन्द्र स्थापनाको माग


राजन रावत
हुम्ला, फागनु ९ गते । दुरदराजको बस्ती मासपुर गाउँका स्थानीयले आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि गाउँमै मतदान केन्द्रको माग गरेका छन् । गाउँबाट मतदान केन्द्र गएर भोट खसाल्न दश घण्टा पैदल हिडेर जानुपर्ने बाध्यताबाट छुटकारा पाउन गाउँबासीले सो माग गरेका हुन् ।

ताजाकोट गाउँपालिका –३ को मासपुर गाउँका स्थानीय दानबहादुर बुढाले बिगतका वर्षमाझै यस पटकको स्थानीय तहको निर्वाचनमा मताधिकारबाट आफूहरुलाई बन्चित नगराउन आयोगका पदाधिकारीसँग माग गर्नुभयो । वडाका कैलाश प्राबि थापागाउँको मतदान केन्द्रमा मतदान गर्न गाउँवासीले दश घण्टा पैदल हिडेर जानुपर्ने हुँदा धेरै मतदाता सो अवसरबाट बन्चित हुनेगरेको उहाँहरुको भनाई छ ।

मतदान गर्न एक दिन हिडेर जानु पर्ने भएपछि अधिकांस मतदाता मताधिकारबाट बन्चित हुँदैआएको गुनासो गर्दै भुगोलले गर्दा मासपुरवासी मताधिकारबाट बन्चित हुँदैआएको उहाँले बताउनुभयो । २०७४ सालको तीनवटै तहको निर्बाचनमा मासपुरवासीमध्ये १७ जनाले मात्र मतदान गरेको उहाँहरुको भनाई छ । मतदान केन्द्र नपुग्दै मतदान गर्ने अबधि सकिने भएकाले धेरै मतदाता नजाने गरेको बुढाले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले आफु निर्वाचित भएदेखि नै मासपुरमा मतदान केन्द्र स्थापनाका लागि पहल गरिरहेको बताउनुभयो । माग हालसम्म पुरा नभएको उहाँको भनाई छ । बीस घरधुरीका ६७ जना मतदातामध्ये एक घरबाट एक जना मात्र मतदान गर्न केन्द्रमा बिहान सबेरै हिडेर जानुपर्ने अबस्था छ उहाँले भन्नुभयो । यस्तो समस्या देखिएपछि गाउँपालिकाको कार्यपालिका बैठकबाट निर्णय गराएरै्र माग गरिएको भएपनि सुनुवाई अझै नभएको उहाँले बताउनुभयो ।

बृद्धबृद्धा तथा अपाङ्गता भएका नागरिक लामो दूरी पैडल हिडेर पार गर्न नसक्ने हुनाले मतदाधिकारबाट बञ्चिन रहनेगरेको गाउँलेको भनाई छ । निर्वाचन समय अझै बाँकी रहेकाले केन्द्र स्थापनाका लागि राजनीतिक दल, निर्वाचन कार्यालय र आयोगसँग माग गरिएको गाउँलेहरुले बताउनुभयो । सडक सञ्जालले नछोएको दुरदराजको बस्ती भएकाले मासपुरवासी हालसम्म निर्वाचनमा मतदान गर्ने अधिकारबाट बिमुख हुनुपरेको बुढाको गुनासो छ । मतदाता संख्यालाई मात्र ध्यान नदिएर भौगोलिक रुपमा बिकटका वस्तीको बाध्यतालाई पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले यसपटक नयाँ मतदान केन्द्र थपिने सम्भावना नभएको बताउनुभयो । मासपुरको समस्यालाई आयोगलाई जानकारी गराउँदा गतवर्ष तय भएको मतदान केन्द्रलाई यथावत राख्ने र नयाँ नथपिने जानकारी पाएको कारण मासपुरवासीको समस्या समाधान हुनेमा उहाँले आशंका व्यक्त गर्नुभयो ।

अहिले मतदान केन्द्रबाट टाढा बस्ती रहेको गाउँहरुमा खार्पुनाथ गाउँपालिकाको ताक्ला, दुर्पा, लेख, कारङ्गा गाउँ, सर्केगार्ड गाउँपालिकाको कुती, नाम्खा गाउँपाकिलाकै लामा खोल्सी गाउँका मतदाता एकदेखि दुई घण्टा पैदल हिडेर मतदान गर्दै आउनुभएको कार्यालयले जनाएको छ । २०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा हुम्लामा ५२ वटा मतदान केन्द्र थिए । गतवर्षकै मतदान केन्द्रलाई यथावत राख्ने निस्कर्षमा आयोग पुगेकाले थपिने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?