logo
२०८० चैत्र १५ बिहीवार



बाढीबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण

खुला |
प्रदेश |


बाढीबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण


लोकेन्द्र जोशी
दार्चुला, फागुन ९ गते । दार्चुलाको दुहुँ गाउँपालिकाले बाढीपहिरोबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत रकम वितरण गरेको छ । गत भदौ १३ गते वर्षासँगै आएको बाढी र पहिरोमा परी ज्यान गुमाएका परिवारका सदस्यलाई कार्यविधिअनुसार राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बाढीबाट ज्यान गुमाएका पाँच परिवारका सदस्यलाई गाउँपालिकाले प्रतिपरिवार ५० हजार रुपियाँका दरले राहत रकम उपलब्ध गराएको अध्यक्ष कार्कीले बताउनुभयो । बाढिपहिरोले दुहुँ गाउँपालिका –१ बास्पालिका सुरेन्द्र सिह महराका आमाबुवाको मृत्यु भएको थियो ।

त्यस्तै, वडा नम्बर ३ निजाङका बसन्ती कार्की र बिमला कार्कीका श्रीमानको मृत्यु भएको थियो । वडा नम्वर ५ दुल्ला बस्ने मनुवा डडालको पनि घरमाथिबाट खसेको पहिरोमा परी मृत्यु भएको थियो । गाउँपालिकाभित्रका पाँचैजना मृतकका परिवारका सदस्यलाई गाउँपालिकामा आयोजित कार्यक्रमबीच राहत वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इश्वरी जोशीले बताउनुभयो ।

गौरापर्वको अघिल्लो दिन भदौ १३ गते आएको बाढीपहिरोका कारण दुहुँ गाउँपालिकामा मात्रै पाँच जनाले ज्यान गुमाएका थिए । विपद्बाट ठूलो धनजनको क्षति भएपछि गाउँपालिकाले कार्यविधिअनुसार राहत वितरण गर्ने घोषणा गरेको थियो । बाढीपहिरो गएको ६ महिनापछि पीडित परिवारले राहत पाएको गाउँपालिकाले जनाएको छ । राहत रकम पाएपछि परिवारका सदस्यहरुले राहत महुशस गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?