logo
२०८१ बैशाख २२ शनिवार



असिनापानीले पोखरामा करिब ११ करोड रुपियाँ बरावरको क्षति

खुला |
प्रदेश |


असिनापानीले पोखरामा करिब ११ करोड रुपियाँ बरावरको क्षति


रमेश पौडेल
पोखरा, फागुन ९ गते । पर्यटकीय नगरी पोखरामा आईतवार परेको असिनापानीले कृषकलाई बिचल्ली पारेको छ । बाक्लो असिनाले केहीलाई रमाइलै भएपनि कुटो कोदालो गरेर उब्जाउ गर्ने कृषकलाई भने असिनाले ठूलो नोक्सान गरेको छ । असिनाका कारण करिब ११ करोड रुपियाँ बरावरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास मशाखाले जनाएको छ ।

पोखरामा हिजो परेको असिनापानीले ११ करोड रुपियाँ बराबरको क्षति महाशाखाले जनाएको छ । पोखरा महानगरपालिका अन्तर्गत विभिन्न वडामा परेको भीषण असिनापानीले सो क्षति गरेको महाशाखा प्रमुख मनोहरि कडरियाले बताउनुभयो ।

महाशाखाका प्रमुख कडरियाकाअनुसार पोखराको वडा ९, ११, १३ र १८ मा ठूलो क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको छ । असिनाका कारण ती वडामा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा बढी क्षति पुगेको छ । असिनापानीको दोस्रो दिनसम्म पनि असिना नपग्लिएको स्थानीयको भनाई छ ।

असिनाकै कारण पोखराको वडा ११ मा फलमान गुरुङले सञ्चालन गर्दैआएको उदय अर्गानिक कृषि फार्मका २ वटा भैंसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा भाँचिएको थियो । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङकाअनुसार उहाँको २० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

उता, पोखराको वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आएको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । उहाँले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टेनलसहित भाँचिदा पूर्ण रुपमा क्षति भइ २० लाख बढीको क्षति पुगेको उहाँको भनाई छ । असिनाको भारका कारण टनेल भाँचिएको उहाँले बताउनुभयो ।

यसैगरी पोखरा ११ मै दीपगंगा कृषि फार्ममा पनि क्षति पुगेको छ । मेकबहादुर गुरुङले सञ्चालन गर्दै आएको सो फार्ममा असिनापानीले टनेल भत्किदा २ वटा भैंसी घाइते भएका छन् । फार्ममा करिब १५ लाख बराबरको क्षति पुगेको उहाँको भनाई छ ।

पोखरामा आइतबार दिउँसो इतिहासमै बाक्लो असिना परेको थियो । असिनापानीले पोखराको सडक केहीवेर अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमंरसिह चोक, रानीपौवा भागको सडक छोपिएको थियो । सडमा परेको असिना हटाउन डोजरको प्रयोग गरिएको थियो ।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख कडरियाले राज्यले कृषकलाई दिएको बिमा सुविधा समेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्ने बताउनुभयो । पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकाले आफ्नो वडामा धेरै क्षति पुगेको बताउनुभयो ।

कृषकको राहतका लागि आफूले पहल गरेको बताउनुभयो । हालसम्म ६० जनाभन्दा बढीले गुनासो गरेको उहाँले बताउनुभयो । पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुनेगरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा लगाइने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?