logo
२०८१ बैशाख २२ शनिवार



सुख्खा पहिरोमा परी एक जनाको मृत्यु, दुई जना घाइते

खुला |
प्रदेश |


सुख्खा पहिरोमा परी एक जनाको मृत्यु, दुई जना घाइते


नवीन शिशिर विक
बागलुङ, फागुन १० गते । बागलुङको बडिगाड गाउँपालिका –७ गोठानमा मोटर बाटो विस्तारको क्रममा खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । इदिखोलादेखि गोठान जोड्ने मोटर बाटो खन्दैगरेको अवस्थामा गोठान क्षेत्रमा विस्तार भएको सडकमाथिबाट खसेको सुख्खा पहिरोमा परेर स्थानीय ६० वर्षीय गोपीराम विकको मृत्यु भएको हो । मृतक विक सोही मोटरबाटो उपभोक्ता समितिको गतवर्ष अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

पहिरोमा परी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष ३४ वर्षीय दुर्गा विक र ४१ वर्षीय डिलबहादुर विक घाइते हुनुभएको छ । घाइते दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । डोजर सडक विस्तार गर्दै गोठान बस्तीतर्फ अघि बढेको थियो । तीन जना स्थानीय सडक विस्तार कर्मचारीलाई सहयोग तथा अवलोनका लागि सडक विस्तार क्षेत्रमा पुगेको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

विगत तीन वर्षदेखि निरन्तरको पहलपछि गोठान बस्तीमा सडक पुग्न लागेको छ । बस्तीमा सडक पुग्नै लाग्दा अप्रिय घटना भएको अध्यक्ष गुरुङको भनाइ छ । ‘बस्तीमा सडक जोडिने भएपछि स्थानीय हर्षित थिए’ अध्यक्ष गुरुङले भन्नुभयो ‘उपभोक्ता समितिका पूर्व अध्यक्षको निधनले गाउँ शोकमा डुबेको छ ।’ गाउँपालिकाले सडक विस्तारका लागि यस वर्ष १५ लाख रुपियाँ विनियोजन गरेको थियो । गोठान बस्तीमा मगर, गुरुङ र दलित समुदायको बसोबास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?