logo
२०८१ बैशाख २० बिहीवार



बौलाहा स्यालको टोकाइबाट १५ जना घाइते

खुला |
प्रदेश |


बौलाहा स्यालको टोकाइबाट १५ जना घाइते


जनार्जन खत्री
सर्लाही, फागुन १० गते । सर्लाहीको दक्षिणी भेगस्थित भारतसँग सीमा जोडिएको विष्णु गाउँपालिकामा स्यालको टोकाइबाट १५ जना घाइते भएका छन् । मङ्गलबार बिहान आफ्नो घरमा बसिरहेका स्थानीयलाई गाउँ पसेको बौलाहा स्यालले आक्रमण गरी घाइते बनाएको हो ।

विष्णु गाउँपालिका २ बारा उद्योरण र पकडी तथा वडा ४ मधुवन गोठमा स्यालले आतङ्क मच्चाएको स्थानीयले बताएका छन् । स्यालको टोकाइबाट घाइते भएका १५ जनामध्ये छ जनालाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचार गराइ थप उपचारका लागि सरुवा रोग अस्पताल, टेकु रेफर गरिएको प्रहरीले जनाएको छ ।

सामान्य घाइते भएकाहरु भने प्रादेशिक अस्पताल मलङ्गवामै उपचार गराई घर फर्किनुभएको छ । स्यालले अधिकांशको हात र खुट्टामा टोकेको छ । मानिसलाई आक्रमण गर्ने स्याललाई गाउँलेहरुले नियन्त्रणमा लिएर मारेको विष्णु गाउँपालिका–४, मधुवन गोठका बिलट चौधरीले जानकारी दिनुभयो ।

स्यालको आक्रमणबाट विष्णु गाउँपालिका –४, का दरेश महतोको एउटा भैँसीसमेत घाइते भएको छ । विष्णु गाउँपालिका क्षेत्रमा केही दिनदेखि स्याल र कुकुरहरु बौलाएर हिँडिरहेकाले स्थानीयवासी आतङ्कित बनेका स्थानीय सञ्चारकर्मी अकलेश बैठाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?