logo
२०८१ बैशाख १२ बुधवार



विद्यालयमा वितरित पिउने पानीमा दिसाका जीवाणु फेला

खुला |
प्रदेश |


विद्यालयमा वितरित पिउने पानीमा दिसाका जीवाणु फेला


गोकर्ण दयाल
बैतडी, फागुन १० गते । विद्यालयमा वितरण गरिएको पिउने पानीमा दिसामा हुने जीवाणु (कोलिफर्म) देखिएको छ । सिगास गाउँपालिकाका विद्यालयको पिउने पानी परीक्षण गर्दा सो जिवाणु देखिएको हो । विद्यालयको खानेपानी सर्वेक्षण गर्न सिगास गाउँपालिका शिक्षा शाखा र स्थानीय सामुदायिक सिकाई केन्द्रको पहलमा सिगास गाउँपालिका –१ र २ का माबि र आधारभूत तहका विद्यायको पानी परीक्षण गर्दा कोलिफर्म जीवाणु भेटिएको हो ।

सिगास गाउँपालिका –२, स्थित अर्जुन माध्यमिक विद्यालयको खानेपानी परीक्षण गर्दा प्रति ५० एमएल (मिली लिटर) पानीमा ६ वटा कोलिफर्म भेटिएको पानी परीक्षणकर्ता सवईञ्जिनियर मन्जु भट्टले बताउनुभयो ।

विद्यालयमा सुरक्षित पानीको अवस्था बारेमा नमुनाका रुपमा सिगास गाउँपालिका –१, को पञ्चोदय मावि इराना, भूमिराज आधारभूत विद्यालय बेसरा, जुकेपानी स्वास्थ्य चौकी, सिगास गाउँपालिका–१, को वडा कार्यालय र वडा २ को अर्जुन माविको खानेपानी परीक्षण गरिएको भट्टले बताउनुभयो ।

पानी परीक्षण गर्दा पञ्चोदय मावि, भूमिराज आधारभूत विद्यालयको खानेपानीमा चारवटा कोलिफर्म र वडा कार्यालयको पहुँचमा रहेको पिउने पानीमा तीन वटा कोलिफर्म भेटिएको सवइञ्जिनियर भट्टले बताउनुभयो ।

विद्यालयको पिउने पानी चेकजाँच गर्दा कोलिफर्मबारेमा महत्वपूर्ण जानकारी प्राप्त भएको सिगास गाउँपालिका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले बताउनुभयो । विद्यालयको पिउने पानीमा दिसामा हुने जिवाणु भेटिँदा विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने भएकाले विद्यालयको पानी परीक्षण गरेर सुरक्षित खानेपानी व्यवस्थापन गर्न पानी सहज हुने शिक्षा शाखा प्रमुख भट्टले बताउनुभयो ।

सहस्राब्दी विकास लक्ष्यअनुसार विद्यालय र समुदाय सबैको घरमा सुरक्षित पिउने पानी आधारभूत सर्त भएकाले पिउने पानीलाई निर्मलीकरण गरेर मात्रै पिउनु पर्ने परीक्षणले देखाएको शिक्षा खाशा प्रमुख भट्टले बताउनुभयो ।

विद्यालयमा सुरक्षित खानेपानीको अवस्था अध्ययन गर्दा मुहान, इन्टेक, धारा र पानीको भाँडाबाट नमुनाका रुपमा ५० एमएल पानी सङ्कलन गरेर परीक्षण गरिएको सामुदायिक सिकाई केन्द्रका परिचालिका बिमला धामीले बताउनुभयो । गर्मी मौसम सुरु हुन लागेकाले सामुदायिक विद्यालयमा सुरक्षित पिउने पानी व्यवस्था गर्न शिक्षक, अभिभावक र सरोकारवाला सबैको माग छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?