logo
२०८१ बैशाख २० बिहीवार



मधेसमा काँग्रेस जिल्ला निर्वाचनको चहलपहल, २४ जना सभापतिका आकांक्षी

खुला |
प्रदेश |


मधेसमा काँग्रेस जिल्ला निर्वाचनको चहलपहल, २४ जना सभापतिका आकांक्षी


धीरेन्द्रप्रसाद साह
जनकपुर, फागुन १० गते । मधेस प्रदेशका आठवटै जिल्लामा नेपाली काँग्रेस जिल्ला निर्वाचनको चहल पहल बढेको छ । निर्वाचनका लागि आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्नुभएको छ । १५ गते हुन गइरहेको जिल्ला निर्वाचनका लागि प्रत्येक जिल्लामा कम्तिमा दुई–दुई जनाले सभापतिका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

प्रदेशका आठवटै जिल्लाका गरी करिब २४ जना सभापतिका आकांक्षी रहेको सो दलले जनाएको छ । धेरैले उम्मेदवार बन्ने घोषणा गरिसक्नु भएको छ भने केही आकांक्षी दोधारमा रहनुभएको छ । सार्वजनिक कार्यक्रम तथा पत्रकार सम्मेलनमार्फत सभापतिमा उम्मेदवारी दिने घोषणासँगै मत माग्न प्रचार प्रसारमा केही आकांक्षी खटिसक्नु भएको छ । सभापति उम्मेदवार बन्ने आकांक्षीहरुले प्यानल नै बनाएर मतदाताको घरदैलोमा पुगेर मत माग्न थालिसक्नु भएको छ ।

पछिल्लो समय आज काँग्रेस सप्तरी सभापतिमा शुत्रघनप्रसाद यादवले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । करिब दुई हजार पाँचसय मतदाता रहेको यस जिल्लाको सभापतिमा यादवले पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्नुभएको हो । काँग्रेस सप्तरीका निवर्तमान सभापति तथा केन्द्रीय सदस्य दिनेशकुमार यादवकाअनुसार सम्भावित अन्यले औपचारिक रुपमा घोषणा नगरेको भए पनि सप्तरीमा संस्थापनइतर पक्षबाट रामदेव साह उम्मेदवार बन्ने चर्चा छ ।

सभापतिमै भगवतीप्रसाद यादव, रामप्रसाद मण्डल, नन्दकिशोर यादवलगायतको नाम चर्चामा रहेको उहाँको भनाई छ । यस्तै, सिरहा काँग्रेस सभापतिमा रामसुन्दर चौधरी र रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरी प्यानल बनाएर प्रचार प्रसारलाई तीव्रता दिनुभएको छ । त्यहाँ दुई हजार ६५० मतदाता छन् ।
यस्तै, धनुषामा तीन जनाले जिल्ला सभापतिमा उम्मेदवार बन्ने घोषणा गरिसक्नुभएको छ । तीन हजार २८३ मतदाता रहेको यस जिल्ला सभापतिमा सन्तोष यादव, योगेन्द्र पञ्जीयार र दिनेश प्रसैला यादवले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा लाग्नुभएको सो दलले जनाएको छ ।

यसैगरी, महोत्तरी सभापतिमा पनि तीन जना उम्मेदवार बन्ने पक्कापक्की रहेको काँग्रेस महोत्तरीले जनाएको छ । दुई हजार ३५० मतदाता रहेको यस जिल्लामा सुशिलकुमार यादव, नागेश्वरप्रसाद यादव, र बजरंग नेपालीले उम्मेदवारी घोषणा गरेर मत माग्न थाल्नुभएको छ ।

त्यस्तै, सर्लाहीमा लक्ष्मण राय, सुरेन्द्रप्रसाद सिंह, रौतहटमा हृदयनारायण यादव, सुनिल यादव जिल्ला सभापतिमा उम्मेदवार बन्ने नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिनुभयो । त्यहाँ जितेन्द्र यादव पनि सभापतिको आकांक्षी रहनुभएको उहाँको भनाई छ । रौतहटमा दुई हजार ६५० मतदाता रहेको प्रदेश सभापति यादवले जानकारी दिनुभयो ।

त्यस्तै, बारामा पनि तीन जनाले सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । राजेशराय यादव, रमानन्द यादव, शम्भु बुढाथोकीले उम्मेदवार बन्ने घोषणा गर्नुभएको काँग्रेस बाराले जनाएको छ । त्यहाँ दुई हजार ४८० मतदाता रहेका छन् । पर्सामा दुई जनाले उम्मेदवारी घोषणा गर्नुभएको छ । जिल्ला सभापतिमा जनार्दनसिंह क्षेत्री र रामनारायण कुर्मीले उम्मेदवारी घोषणा गरी मत माग्न शुरु गर्नुभएको काँग्रेसले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?